कुकुर र बाँदरबीच ‘ग्याङ फाइट’ परेको होइन, यस्तो रहेछ बाँदरले छाउरा उठाउनुको कारण

काठमाडौं, ७ पुस। पछिल्लो हप्ता भारतको महाराष्ट्रमा कुकुर र बाँदरबीच ग्याङ फाइट परेको समाचार चर्चामा रह्यो । यहाँका बाँदरहरुले कुकुरले आफ्नो बच्चा मारिदिएको बदला लिन कुकुरका छाउराहरु मार्ने गरेको खबर धेरै भारतीय मिडियामा आए । तर, यो विषयमा जसरी हल्ला फैलाइएको थियो त्यस्तो वास्तविकता नभएको बीबीसीले जनाएको छ ।

बीबीसीका प्रतिनिधिले सम्बन्धित गाउँमै पुगेर त्यहाँको वास्तविकता सार्वजनिक गरेका छन् । स्थानीयले बीबीसीसँग बताएअनुसार कुकुरले बाँदरको बच्चा मारेको कुरा सत्य होइन । बरु त्यहाँ यो संघर्ष सेप्टेम्बर महिनामा सुरु भएको थियो जतिबेला गाउँमा २ बाँदर आएका थिए । यो गाउँमा बाक्लो संख्यामा बाँदर हुँदैनथे तर सेप्टेम्बरपछि यहाँ बाँदरहरु देखिन थाले । त्यसपछि गाउँमा विचित्र घटना देखिन थालेका थिए ।\

यी बाँदरहरुले कुकुरका छाउरालाई उडाएर अग्ला रुख वा अग्ला घरको छानामा लिएर गए । बाँदरले कुकुरका छाउरा उठाएर जाने क्रम विस्तारै बढ्दै गयो। बाँदरले उचाइमा लिएर गएका केही छाउराहरुको उचाइबाट खसेर मृत्यु भयो । तर, हल्ला भने बाँदरले कुकुरका छाउराहरु मार्न थालेको भनेर फैलियो । त्यसपछि स्थानीयले वन विभागलाई यसबारे बताए । तर, विभागका प्रतिनिधि गाउँमा आएर निरीक्षण मात्रै गरेर फर्किए । पछिल्लो हप्ता यो कुरा मिडियामा आएपछि भने वन विभाग सक्रिय भयो र बाँदरलाई समात्यो ।

मिडियामा धेरै चर्चा भएपछि वन विभागको टिम बाँदर समात्न आयो । १९ डिसेम्बरका दिन वन विभागले एउटा पिंजडामा कुकुरको छाउरो राखेर पासो थापेर बाँदर समाते । वन अधिकारी डिएस मोरेले बीबीसीसँग कुरा गर्दै समातिएका बाँदरलाई जंगलमा लगेर छोडिएको बताए । गाउँलेले बीबीसीसँग धेरै छाउराको मृत्यु भएको बताए पनि उनीहरुले बताएअनुसार संख्या गणना गर्दा ५० देखि ६० मात्र पाइयो । जबकि वन अधिकारी मोरेले भने ३ देखि ४ छाउरा मात्र मरेको दावी गरे ।बाँदरले यस्तो किन गरे त ? भन्ने प्रश्नमा वन अधिकारी डिएस मोरेले यसको कारण पनि बताए । उनका अनुसार कुकुरको रौंमा साना जुम्रा र उपियाँ हुन्छन् र बाँदरले यी जुम्रा र उपियाँ खान्छन् । यिनै जुम्रा र उपियाँ खानको लागि बाँदरले छाउराहरु उठाउँछन् । डिएस मोरेले भने ‘ठूला कुकुरलाई बाँदरले सजिलै समाउन सक्दैनन् । छाउराहरु सजिलै समाउन सकिन्छ र उनीहरुले आफूलाई बचाउन पनि सक्दैनन् । जुम्रा, उपियाँ खाएपछि बाँदरले छाउरालाई रुखमा वा घरको छतमा छोडिदिन्छन् । त्यहाँ धेरै दिनसम्म खाना पानी नपाएपछि छाउराहरु मरे । छाउराहरु त्यति उचाइबाट तल आउन सक्दैनन् । तल झर्ने कोसिसमा केही खसेर मरे ।’

औरंगाबादमा सिद्धार्थ उद्यानको चिडियाघरमा विभिन्न किसिमका जनावर छन् । डा। बीएस नाइकवाडेले यहाँ लामो समयसम्म काम गरिसकेका छन् । नायकवाडेले बीबीसीसँग भने ‘बाँदरलाई कसैसँग रिस उट्यो भने चोट पुर्याउन सक्छन् तर लावुल गाउँबारे जे भनिएको छ त्यो अतिशयोक्ति हो ।’ लाइफ केयर एनिमल एसोसिएसनका अध्यक्ष धनराज शिन्देले अलग पक्षतिर इशारा गरे । उनका अनुसार बाँदर निकै जिज्ञासु जनावर हो । त्यसैले जिज्ञासावश बाँदरले यस्तो गरेको पनि हुन सक्छ ।’

वन अधिकारी डएिस मोरेका अनुसार बाँदरहरुले गाउँमा कसैमाथि हमला गरेका छैनन् । बाँदरको डरले केही दुर्घटना भए तर बाँदरले कहिल्यै हमला गरेनन् । गाउँमा ३ महिनादेखि चलिरहेको नाटक समाप्त भएको छ । अब गाउँमा कुकुर देखिन्छन् । केही ठाउँमा छाउराहरु पनि छन् । तर, अब बाँदर यहाँ छैनन् । उनीहरुलाई जंगलमा छोडिएको छ । तर, गाउँमा बादरले छाउरा मारेको चर्चा भने चलिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board