काठमाण्डौ, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वसँग जोड्ने बताएका छन् ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै हिजो शनिवार विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, ‘नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्याउनेछ ।’ मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्रयाउन थप टेवा पुग्ने बताए । उनले भने, ‘पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो । मलाई लाग्छ, आफ्नो व्यस्तता बाहेक नेपाल आएका पर्यटकहरू पोखरा नपुगी फर्किन मान्दैनन्, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सजिलो बनाउनेछ ।’ मन्त्री आलेले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरे । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत उनले जानकारी दिए । विभिन्न पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकहरूलाई धेरै दिन बास बसाउन सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीहरूलाई आग्रह गरे । पोखरामा थप पर्यटक भित्र्याउन त्यहाँ रहेको रत्नमन्दिर खुलाउनका लागि त्यहाँका नागरिकले आग्रह गरेकाले आफूले सम्बन्धित निकायमा खबर गरी त्यो मन्दिरको ढोका खोल्न भनेको र अब त्यो पनि खुल्ने जानकारी उनले दिए ।
यस्तै मन्त्री आलेले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा त्यो रुट नेपालका हवाईजहाजले नपाउने भएकाले आफू भारतको हैदराबाद गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग कुरा गरेको र उहाँ सकारात्मक रहेको जानकारी पनि दिए । कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागि परेको भन्दै तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको पनि स्मरण गरे । त्यो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको उनले बताए । मन्त्री आलेले भने, ‘यो विमानस्थल निर्माण गर्न स्व. अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन । विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उहाँलाई हामीले कहिले बिर्सिनु हुँदैन ।’
COMMENTS