पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो

तनहुँ, २२ चैत । जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई मंगलबार बिहान नवलपुर पठाइएको छ । नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।

सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको उनले बताए । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा छन् । शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई गत फागुन २४ गते नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board