काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह उम्मेदवार बनेका छन् । यस्तै, नेकपा (एमाले)ले विजय सरावगीलाई उम्मेदवार बनाएको छ ।
सरावगी र सिंहबीच महानगरको मेयरमा पुनःएकपटक प्रतिस्पर्धा हुने भएको छ । २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका सरावगी र सिंहबीच दोस्रोपटक भिडन्त हुन लागेको हो ।
तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)बाट मेयरमा निर्वाचित सरावगीले एमाले प्रवेश गरेर दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका हुन् । जसपाबाट पुनः मेयरमा टिकट पाउने सम्भावना नदेखेपछि उनी पार्टी परित्याग गरेर एमालेबाट मेयरको उम्मेदवार भएका हुन् ।
यस्तै, सिंह तत्काली राष्ट्रिय जनता पार्टी (राजपा)बाट तेस्रो भइ पराजित भएका थिए । उनी चुनावको मुखमा जसपा प्रवेश गरेका थिए । उनलाई जसपाले सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको हो ।
यसअघिको निर्वाचनमा सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए भने सिंहले १२ हजार १६५ मत ल्याएका थिए ।
वीरगञ्जको उपमेयर पदमा भने सत्ता गठबन्धन र एमाले दुवैले उम्मेदवार टुंगो लगाइसकेका छैनन् ।
COMMENTS