काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । ‘म २०३६ सालदेखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भने, ‘०५४ सालमा एमाले विभाजन हुँदा म मालेतिर लागेँ । दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आबद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यही पार्टीमा लागेँ । तर, त्यो पार्टीले वामआन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’
उनले अहिले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ केशव स्थापितको टिमलाई जिताउन हिँड्ने बताए । ‘नेपालको वामआन्दोलनका लागि अब माओवादीको काम छैन,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा अब नेकपा एमालेसँग आवद्ध भई निरन्तर लाग्ने प्रण गर्दछु ।’
आज एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटीमा आवद्ध छन् भने बाँकी माओवादीको साधारण सदस्य रहेको काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष शाक्यले पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताए ।
COMMENTS