वीरगन्ज, २१ वैशाख । नेकपा एमालेले वीरगन्ज महानगरपालिकामा मेयर उम्मेदवार बनाएको विजय सरावगी पार्टीमा नवप्रवेशी हुन्।
२०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी (हालको जसपा) बाट निर्वाचित सरावगी २०७७ फागुन २८ गते मात्र एमाले प्रवेश गरेका थिए। मेयर मात्र होइन, एमालेले वीरगन्ज महानगरमा आधाभन्दा बढी नवप्रवेशी उम्मेदवार उठाएको छ जो केही समययता अर्को पार्टीबाट एमाले प्रवेश गरेका हुन्। एमालेले ३२ मध्ये ३१ वडामा उम्मेदवारी दिएकोमा २० जना नवप्रवेशी छन्। नवप्रवेशीहरूमध्ये जसपाबाट एमाले प्रवेश गरेकादेखि नेपाली कांग्रेसबाट आएकाहरू समेत छन्। उदाहरणका लागि, हबिब मिया नेटुवाले २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वीरगन्ज वडा नम्बर २१ को वडाध्यक्ष जितेका थिए। उनी यसपालि त्यही वडाका अध्यक्ष उम्मेदवार छन् तर उनको पार्टी फरक छ। हबिब यसपटक एमालेबाट चुनाव लड्दै छन्। गैसुद्दिन मियाले गत निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट वडा नम्बर २२ को वडाध्यक्ष जितेका थिए। उनी पनि यसपटक यही वडाबाट एमाले उम्मेदवार बनेका छन्।
त्यस्तै, सुशीलकुमार कण्ठले वडा नम्बर ३ मा राप्रपाबाट चुनाव लडेका थिए। उनले १२८ मत पाए। यसपालि उनी एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनी एमालेको चुनाव चिह्न लिएर लडे पनि कमल थापा नेतृत्वको राप्रपा नेपालका उम्मेदवार बनेका हुन्। सूर्य चिह्न लिएर लड्ने भनेर एमालेसँग गठबन्धन गरेको राप्रपाले वीरगन्ज महानगरमा पाएको वडा यही मात्र हो। वडा नम्बर १ का अध्यक्ष उम्मेदवार बाके बिहारी साह तेली जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका हुन्। वडा नम्बर २ का मतलुन ठकुराई वीरगन्जका पुराना कम्युनिस्ट नेता हुन्। उनी यसअघि विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा लागेका थिए। वडा नम्बर ४ का अध्यक्ष उम्मेदवार सुमन श्रेष्ठ महानगरपालिकाको जागिरबाट अवकास लिएर एमाले प्रवेश गरेका हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमल श्रीवास्तव नजिकका आफन्तसमेत हुन्। वडा नम्बर ५ का अध्यक्ष उम्मेदवार प्रदीपकुमार यही वडामा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए। उनी पनि एमाले प्रवेश गरेर उम्मेदवार बनेका छन्। वडा नम्बर ६ का उम्मेदवार ध्रुवकुमार लाठ पनि एमालेका लागि नयाँ हुन्। मारवाडी समुदायका उनले केही समयअघि मात्रै एमाले रोजेका थिए। वडा नम्बर ७ का उम्मेदवार अरूणकुमार क्षत्री कांग्रेस पृष्ठभूमिका हुन्। गएको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर २६८ मत ल्याई तेस्रो बनेका थिए।
वडा नम्बर ९ की उम्मेदवार मिनाक्षीकुमारी कर्माचार्य स्कुल सञ्चालक हुन्। उनका लागि पनि एमाले नयाँ पार्टी हो।
यसरी एमालेमा नवप्रवेशीको वर्चस्व भएकामा यहाँका स्थानीय कार्यकर्ता खुसी छैनन्। एमाले वीरगन्ज महानगरका एक वडास्तरीय नेताले भने,’पार्टीले टीका लगाऊ, टिकट पाऊको नीति लिएको छ। तिनीहरू आउँछन्, जान्छन्। आज छन्, भोलि छैनन् भनेजस्तै हो।’ नवप्रवेशी नअडिने डरले लोसपासँग तालमेलविपरीत उम्मेदवारी दियो एमालेले वीरगन्जमा आधाभन्दा बढी नवप्रवेशी उम्मेदवार उठाएको नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरेको छ।
COMMENTS