रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न दोस्रो बैठकमा उनले भविष्यलाई सुनिश्चितता प्रदान गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्नतर्फ दलहरुको ध्यान जानुपर्ने उल्लेख गरे । “आज मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेभन्दा गठबन्धनका माध्यमबाट सत्ता प्राप्त गर्ने कुरातर्फ अगाडि बढ्ने प्रयास भइरहेको छ यो नेपालको राष्ट्रिय राजनीतिका सन्दर्भमा दुःखद् पक्ष हो,” उनले भने ।
बलियो राष्ट्रिय शक्तिबिना राष्ट्रको निर्माण हुन नसक्ने उनले बताए । जनताको जीवनमा परिवर्तन ल्याउने र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने राष्ट्रिय शक्तिको आवश्यकता भएकाले दलहरु यसमा गम्भीर हुनुपर्ने उनले उल्लेख गरे । “प्रदेशलाई संघीयताको महत्वपूर्ण आधारका रुपमा लिइएको छ,” उनले भने ।
विगतको संसदीय अभ्यासअनुरुप यसअघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भए पनि बजेटमा समावेश नगराइनुले नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर देखिएकाले यस प्रकारको अभ्यास गलत भएको पोखरेलले टिप्पणी गरे ।
अघिल्लो सरकारले झन्डै ८० पुल निर्माणका लागि क्रमागत आयोजनाका रुपमा अघि बढाएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले रकम अभावमा ती योजना पूरा हुन नसकेको गुनासो गरे । प्रदेशको स्थायी राजधानी तय भए पनि गुरुयोजना निर्माण र राजधानीको पूर्वाधार निर्माणका कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउन नसकेको भन्दै उहाँले सभामुखमार्फत् प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यमका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे । प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध खुला गरेपछि लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत दोस्रो बैठकले आज पूर्णता पाएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेटको तयारीलगायत महत्वपूर्ण विषयमा बैठकमा छलफल गर्नुपर्ने भएकाले अवरोध नगर्ने एमालेले जनाएको छ । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
COMMENTS