भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यात्रुमध्ये ४ जनाको भीम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा र ६ जना महिलासहित ३४ जना सवार थिए ।
जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियो । सवार यात्रुमध्ये घाइते चालक, सहचालकसहित सबैको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । “पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो,” चालक क्षेत्रीले भने ।
लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ् तोड्दै खोलामा खसेको थियो । घोप्टो अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार गर्दै यात्रुहरुलाई अस्पताल पठाएको छ । बसलाई सुल्टो पारेर राखिएको छ ।
मृतकमध्ये ओमसतिया–४ का अन्दाजी ६० वर्षीय राजेन्द्र पाण्डे, बुटवल ११ का ४५ वर्षीय कृष्ण बस्याल र तिलोत्तमा योगिकुटीका ५६ वर्षीय निष्णु पौडेलेको मात्रै सनाखत भएको छ । मृतकको पहिचानबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त छ ।
दुर्घटनामा परेको बस पश्चिम नेपाल बस व्यवसायीको नियमित रुटको बस हो ।
COMMENTS