हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्नेः मेयर साह

काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा वडाध्यक्षहरुसँग प्रश्न-उत्तर भएका छन् ।

अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् । बालेनले तिनको जवाफसमेत दिएका छन् ।

सडकमै भल बग्ने समस्याको समाधानका लागि मेयर बालेन साहले हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका छन् । हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताए । उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताए । यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ छ ।

उनले अबदेखि सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने बताए । काठमाडौंमा अबको डेढ वर्षभित्र विद्युतका तारहरु भूमिगत हुने जानकारी आफूले पाएको उनले बताए । कार्यपालिका बैठकमा उनले भने ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भएका छन् । यसमा हामी पनि सहकार्य गर्छौं ।’ उनले इन्टरनेटको तार पनि व्यवस्थित गरिने बताए ।

कार्यपालिका बैठकमा वडाध्यक्षहरुले वडामा नगर प्रहरी बढाउन माग गरेका थिए । उनले जवाफ दिँदै अबदेखि नगर प्रहरीको आवश्यकता पर्ने वित्तिकै सिधै नगर प्रहरी प्रमुखलाई फोन गर्न मिल्ने बताए । यस्तै वडाध्यक्षहरुले सिसडोलमा कसले बल प्रयोग गरेको हो भन्दै गरेको प्रश्नमा बालेनले यो कुरा गृह मन्त्रालयलाई सोध्नुपर्ने र त्यो अधिकार महानगरलाई नभएको बताए । ‘सिसडोलमा हाम्रो मात्रै फोहोर जाँदैन २२, २३ नगरपालिकाको फोहोर जान्छ । प्रहरी परिचालन गर्ने महानगरको अधिकार छैन । त्यो गृहमन्त्रालयको अधिकार हो,’ उनले भने ।

बैठकमा उपमेयर सुनिता डंगोलले बैठक सकारात्मक भएको भन्दै सधैं पूर्व तयारी गरेर बैठक बस्नुपर्ने बताइन् । काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले १२ वटा विषयगत समिति गठन गरेको छ । उपमेयरको संयोजकमा राजश्व परामर्श समिति, न्यायीक समिति सहित विभिन्न १२ वटा विषयगत समिति गठन भएको हो । आजै १२ वटा विषयगत समितिको संयोजकहरुको बैठक बस्ने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board