नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार : भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन् ।

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने छ’, विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘आर्थिक सहकार्यमा केन्द्रित भइ हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’

दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

यस क्रममा उनले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए ।

साथै त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारेका थिए । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढ्न सकिने बताए ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरेका थिए । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा राखेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board