लमजुङ, २० भदौ । लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिकामध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ ।
गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक ८७ दशमलव चार अंक प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयुँले ८६ दशमलव दुई र बेनीले ८५ अंक प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् ।
गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले बताए ।
स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका ८ स्थानीय तहमध्ये पनि मध्यनेपाल नगरपालिका प्रथम भएको थियो । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक बर्ष २०७८/७९ मा सम्पादित स्वास्थ्यसम्बन्धी गतिविधिहरुका मुख्य सूचकहरुको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो ।
नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दुधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका साथ द्वितीय र बेंसीसहर नगरपालिका ८१ दशमलव ६५ अंकका साथ तृतीय भएको छ ।
स्वास्थ्य क्षेत्रमा गण्डकीमै प्रथम भएकोमा खुसी व्यक्त गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्य क्षेत्रमा खटिएका सबै कर्मचारीलाई बधाई तथा धन्यवाद दिएका छन् ।
COMMENTS