पोखरा, ४ असोज । गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् ।
यस्तै, नगरपालिका तर्फ मेयरका पराजित ९६ उम्मेदवार र उपमेयरका पराजित ६४ जना उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिबाना तोकिएको छ । आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार नगरपालिकाका ७ प्रमुख र १ उपप्रमुखका उम्मेदवारलाई कारबाही भएको छ ।
बेँसीसहरका निर्वाचित मेयर गुमानसिंह अर्याल र उपमेयर पद्या गुरुङसहित मेयरका ४ उम्मेद्वार र उपमेयरका ३ उम्मेदवारले जरिबाना तिर्नुपर्ने भएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे र उपमेयर सीता गुरुङसहित ६ प्रमुख र ५ उपप्रमुखका उम्मेदवार कारबाहीमा परेका छन् भने राइनासका निर्वाचित मेयर खड्कबहादुर गुरुङ र उपमेयर पुष्पराज खनाल सहित ५ प्रमुख र ४ उपप्रमुख कारबाहीमा छन् ।
सुन्दरबजारको ३ मेयर र ४ उपमेयरका उम्मेदवार कारबाहीमा परे । उनीहरु सबै पराजित भएका हुन् । कुश्माका ३ मेयर र ३ उपमेयर उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेका छैनन् । फलेवासका ५ मेयरका उम्मेदवार र १ उपमेयरका उम्मेदवार पनि कारबाहीमा परेका छन् ।
गल्याङ नगरपालिकाका २ मेयर र ३ उपमेयर उम्मेदवार कारबाहीमा छन् भने चापाकोटमा निर्वाचित मेयर देवबहादुर खाँड र उपमेयर इशा रानासहित २ प्रमुख र ३ उपप्रमुखले जरिबाना तिर्नुपर्ने भएको छ । पुतलीबजारमा उपमेयर उम्मेदवार एकजना कारबाहीमा परे । भीरकोटमा निर्वाचित मेयर गोविन्द कर्माचार्य र उपमेयर भगवती रेग्मीले खर्च विवरण दिएका छैनन् । मेयर उम्मेदवार नरभुपाल दमाई पनि कारबाहीमा परेका छन् ।
वालिङका २ मेयर तथा १ उपमेयर, बेनीमा २ मेयर र ३ उपमेयर उम्मेदवार, गल्कोटमा ४ मेयर र १ उपमेयर, जैमिनीमा २ प्रमुख र १ उपप्रमुख तथा ढोरपाटनका २ प्रमुख र १ उपप्रमुखलाई कारबाही भएको छ । बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र उपमेयर राजु खड्कासहित ४ प्रमुखका उम्मेदवार र ३ उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजार जरिबाना तोकिएको छ ।
कावासोतीमा निर्वाचित विष्णु भुषाल र उपमेयर फूलकुमारी थनेतसहित मेयरका ९ उम्मेदवार र उपप्रमुखका ४ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । गैंडाकोटका मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइरालासहित मेयरका ५ उम्मेदवार र उपमेयरका ५ उम्मेदवारलाई कारबाही भएको छ । देवचुलीका हरि न्यौपाने र उपप्रमुख पार्वता तिवारीसहित मेयरका ८ उम्मेदवार र उपमेयरका ६ उम्मेदवार तथा मध्यविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी र उपमेयर पूर्णकला चौधरीसहित मेयरमा १० र उपमेयरमा उम्मेदवारी दिएका ६ जना कारबाहीमा परे ।
तनहुँस्थित भानुका मेयर आनन्दराज त्रिपाठी र उपमेयर उमा गोतामेसहित मेयरमा ५ र उपमेयरमा ५ जनालाई कारबाही भएको छ भने भीमादका मेयर दधिराज सुवेदी र उपमेयर शारदा खनाल सहित मेयरमा ५ र उपमेयरमा ४ जनाको खर्च विवरण बुझाउन बाँकी छ । व्यास नगरपालिकामा ५ प्रमुख र १ उपप्रमुख उम्मेदवार र शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विकसहित मेयरमा ५ र उपमेयरमा ४ जनाले खर्च विवरण दिएका छैनन् ।
COMMENTS