दाङ, ४ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ ।
मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरु भएको हुँदा यो मतदान केन्द्रमा समय थपिएको हो ।
यो मतदान केन्द्रमा भोट हालेर गएका मतदाताहरूलाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटुन् भनेर बेलुका ७ बजेसम्म मतदानको समय थपिएको निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।
कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर–१० को मावि पातु वनगाउँ केन्द्रको मतदानस्थल (ग) मा स्थगित मतदान फेरि दिउँसोदेखि सुरू भएको हो ।
दोस्रो पटक एक वटाबो बन्डल पठाउँदा सबै प्रदेशसभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो । ४२ जनाले मत खसालिसकेपछि प्रतिनिधिसभा सदस्यकोमा मतदान नभएको तथ्य पत्ता लागेको थियो ।
दलहरूका बीचमा खसेको सबै मत बदर गरी नयाँ मत पेटी ल्याई पुनः मतदान सुरू भएको हो ।
सहमतिअनुसार पहिले मतदान भएका मत पेटिका मुचुल्का बनाई सबै हटाइएको थियो ।
मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानजान नभइ भुलबस गल्ती भएको स्वीर गरेकी थिइन् ।
COMMENTS