काठमाडौँ, ५ मंसिर । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिने छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए । काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नंम्बर५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुने छ ।
निर्वाचन क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नम्बर १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिने छ ।
यद्यपि, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को मत गणना सुरु गरिसकिएको छ । निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिइन् । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ ।
यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ । ललितपुर क्षेत्र नम्बर २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकुद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ ।
COMMENTS