लमजुङ, ५ मंसिर । लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका-२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।
हाल सदरमुकाम बेंसीसहर बस्दै आएका उनी शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका थिए । उनलाई उपचारका लागि भरतपुर लगिएको थियो ।
जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ उच्च रक्तचाप बिरामी थिए। मर्स्याङ्दी गाउँपालिका-२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उनको शवलाई लमजुङ ल्याइएको छ ।
उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका छन् ।
COMMENTS