काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावता अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
किरात समुदायमा जाडो मौसमु सुरू भएपछि हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरू भइ १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउन परम्परा रहेको छ । यस पर्वका अवसरमा किरात समुदायका मूलतः राई, लिम्बू, याक्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ । उधौली पर्वका अवसरमा परम्परागत भेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।
प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको उल्लेख गरेका छन् । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उनले उल्लेख गरे ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरूंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न यस पर्वले सहयोग गरेको बताए ।
COMMENTS