काठमाडौं, १७ चैत । कोरोना संक्रमणको त्रासका कारण काठमाडौँ उपत्यकाका सरकारी, सामुदायिक तथा नीजि अस्पतालहरुले अन्यखाले समस्या परेका बिरामीहरुको पनि उपचार नगर्दा आम बिरामी मारमा पर्नथालेका छन् । यस्तो अवस्थामा पनि भक्तपुरमा भने कोरोना संक्रमणको त्रासमा आएका बिरामीलाई सहयोग गर्न एउटा समुहले हेल्प डेस्क नै सञ्चालन गरिरहेको छ भने अस्पतालहरुले सबै विरामीलाई नडराई चेकजाँच गरेर पठाइरहेको बताएका छन् ।
कोरोना संक्रमण रोकथामको निम्ति सरकारले लकडाउन घोषणा गरेको हप्तादिन पुगिसकेको छ । नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । केही शंकास्पद देखिएका विरामीहरुको पनि परिक्षण जारी छ । काठमाडौँ उपत्यकामा सडक र बस्तीहरु सुनसान छन् ।
यातायातका साधन चलेका छैनन् । यस्तो अवस्थामा कोरोना संक्रमणका त्रास बोकेका बाहेकका अन्य नियमित बिरामीहरुलाई पनि उपचारमा समस्या थपिएको छ । अधिकांश अस्पतालका ओपिडी सेवाहरु ठप्प छन् । जसले गर्दा निकै नै एर्मजेन्सी बाहेक नियमित चेकजाँच गर्न अस्पतालहरुले बन्द गरिरहेका छन् ।
अझ सामान्य रुघाखोकी, ज्वरो आएका विरामीहरुको उपचारमा अस्पतालहरु डराईरहेको अवस्था छ । एउटा अस्पतालले अर्को अस्पतालमा रिफर गर्दा बिरामीको विचल्ली हुने अवस्था पनि छ । स्वास्थ्यसंस्थाहरुकै यस्तो गैरजिम्मेवारीपन चलिरहँदा भक्तपुर अस्पतालमा भने स्थानीय स्तरमा गठन भएको आर. एन. ए. १६ समुहले स्वयंसेवी भएर सघाईरहेको छ ।
भक्तपुर अस्पतालबाट कोरोना संक्रमणको आंशकामा १७ स्याम्पल टेकु पु¥याइएको मध्ये १५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । दुईवटा रिपोर्ट आउन बाँकी छ । स्याम्पल टेकु लिएर जानेदेखि बिरामीलाई आवश्यक सम्पूर्ण प्रकारका सरसहयोग उक्त समुहले गरिरहेको छ । आज कोरोना संक्रमण सर्ने डरले एक मान्छेदेखि अर्को मान्छे डराइरहेका छन् । अवस्था पनि त्यस्तै छ । बिरामी छ भन्ने थाहा पाउँदा त झनै मान्छे तर्किन थालेका छन् । तर आर एन ए १६ समुहले भने यस्तो परिस्थितिमा आवश्यक सहयोग गर्दै हौसला प्रदान गरिरहेको छ भने अस्पताललाई पनि सहयोग गरिरहेको छ ।
निजि अस्पतालहरुले विरामीको जाँच गर्न हिच्किचाइरहेको जनगुनासो छ । तर नीजि अस्पतालहरु यो कुरा स्वीकार्न तयार छैनन् । भक्तपुरमा रहेको अस्पतालमा इर्मजेन्सिका बिरामी लिइरहेको र ज्वरो, रुघाखोकीको उपचारमा पनि चिकित्सकहरु नडराई जाँच गराइरहेको बताउँछन् ।
अस्पताल परिसरमा भेटिएका केही बिरामीहरु पनि सामान्य सेवा अस्पतालबाट पाइरहेकै बताउँछन् । यद्यपी अस्पतालले सञ्चालन गर्ने अथवा सामुदायिक संघ, संस्थाका एम्बुलेन्स चालकहरु भने निकै डराइरहेका छन् । सुरक्षा साधनको व्यवस्था नहुँदा एम्बुलेन्स चालकहरु डराउनुपरेको अवस्था छ् ।
यता, सामुदायिक अस्पतालले पनि थोरै संख्यामा अट्ने भए पनि क्वारेन्टाइन भवन बनाएको बताउँछन् । अस्पतालमा ज्वरो जाँच गर्ने छुट्टै क्लिनिक सञ्चालन गर्न प्रयास गरिरहेको सामुदायिक अस्पतालहरुको भनाई छ । भक्तपुरमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि कोरोना संक्रमणबाट कत्ति पनि त्रसित नभइ सेवा दिइरहेको बताउँछन् ।
सरकारले नै अत्यावश्यक बाहेक उपचारमा नजानु भनेकाले सबै अस्पतालहरु कोरोना संक्रमणको सम्भावित उपचारको निम्ति तयारी अवस्थामा छन् । तसर्थ अस्पतालमा अन्य प्रकारका विरामीहरुको घुँइचो छैन । अस्पतालमा आवश्यक पर्ने मेडिकल सामग्रीहरुको अपर्याप्तताका कारण अस्पताल डराउने गरेको पनि सत्य हो ।
सरकारले अस्पतालहरुमा आवश्यक मेडिकल सामाग्रीहरु पुराउन ढिलाई गर्नु हुँदैन र अस्पतालहरुले पनि आम नागरिकलाई यस्तो विपतको बेलामा आईपरेको रोगको उपचारमा डराउने, आत्तिने र जिम्मेवारीबाट पन्छिनु हुँदैन । कोरोना संत्रासका कारण अन्य विभिन्न प्रकारका विरामीहरुको अवस्था पनि बिग्रिन सक्छ, सरकारले त्यतातिर ध्यान पु¥याउनुपर्छ ।
COMMENTS