काठमाडौं, २९ बैशाख। कालापानी सीमा क्षेत्रको सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गर्नुभएको हो । उहाले भन्नुभयो , ‘अतिक्रमण गरिएको क्षेत्रमा सीमा सुरक्षाका लागि सेना पठाइहाल्नुपर्छ ।
विगतका सरकारले कुटनीतिज्ञले के–के गल्ति गरे त्यसको पनि खोजविन हुनुपर्छ । अहिलेको सरकार र विगतका सरकारका बीचमा दोषारोपण गर्ने भन्दा पनि समस्या समाधान गर्न लाग्नुपर्छ ।’ सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता गर्न माग गर्नुपर्ने बताउनुभयो । अर्का सांसद उमा रेग्मीले ७ महिना अघि भारतले नक्सा सार्वजनिक गर्दा नेपालको भूमिसहित नेपालको पनि नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई निर्देशन दिँदा सरकारले कार्यान्वयन गर्दैन भने छलफलको के औचित्य भन्दै प्रश्न गर्नुभको छ ।
मिनि संसदले गरेको निर्णय किन सरकारले पालना गरिरहेको छैन भन्दै सांसद रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न गर्नुभएको छ । उहाले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको भूमि भारतको भनेको के हो त्यसबारे जवाफ दिन समेत गर्नुभयो । नक्सा प्रकाशन गर्न प्राविधिक समस्या पर्यो भनिएको छ के हो त्यस्तो समस्या स्पष्ट गर्ने पर्ने समेत उहाले बताउनुभयो । उहाले सीमा मिचिएको बारे प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गर्दै यो कुनै दल र सरकारको मात्र समस्या नभइ देशको समस्या भएको उल्लेख गर्नुभयो ।
विज्ञ टोली पठाउन भीम रावलको माग
बैठकमा बोल्दै सांसद भीम रावलले विगतकाले हिजो गरेनन् भनेर आजको दायित्वबाट पन्छिन नपाइने भन्दै संसदले दिएको निर्देशन पनि सरकारले कार्यान्वयन नगरेको बताउनुभयो । उहाले सीमा विवादबारे राज्यका निर्देशक समितिले कति पटक निर्देशन दियो कति पटक कार्यान्वयन भयो भन्दै प्रश्न गर्नुभएको छ। उहाले भारतको अतिक्रमणबारे परराष्ट्र मन्त्रालयले हस्ताक्षर विनाको बेवारिसे बक्तव्य निकालेको भन्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसार यस्तो विषयमा देशले आफ्ना प्रवक्तलाई सशरीर उभ्याएर खण्डन गरिनुपर्छ उहाले भन्नुभयो ।
उहाले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु दुई देशको असल छिमेकीको सम्बन्ध विपरित, अन्तर्राष्ट्रिय कानून विपरित रहेको बताउनुभयो । उहाले दार्चुलाको सबैभन्दा धेरै जमिन अतिक्रमण भएको बताउँदै नेपाली सिमानामा भारतले ४५ हजार सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो । तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन माग गर्नुका साथै नेपालको नक्सा प्रकाशन गर्न पनि माग गर्नुभयो । उहाले भन्नुभयो , ‘हामी सैन्य शक्तिमा कमजोर छौं होला तर हामी सार्वभौमरुपमा कमजोर छैनौँ । उसले हाम्रो भूमि समेटेर नक्सा प्रकाशन गर्ने तर हामी त्यो क्षेत्रमा पनि नपुग्ने र नक्सा पनि किन प्रकाशन गर्न नसक्ने ? यो विषय सबै नेपालीको साझा विषय विषय हो । हामी भारत विरोधी पनि छैनौँ, चीन विरोधी पनि हैनौं, हामी नेपाली पक्षधर हौं । हामीले त्यहाँ तत्काल विज्ञ टोली पठाऔं ।’
COMMENTS