काठमाडौं, १ जेठ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनलाई कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं ल्याएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ । कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका-४ ठाकुरापुर की रहेको खुलेको छ । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन् ।
‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै बसेकी बालिकालाई कसरी कोरोना देखियो हामी सबै अचम्ममा परेका छौं ।’
COMMENTS