16 May, 2020 9:04 am


नेकपा अध्यक्षद्धय ओली–प्रचण्डको प्रतिबद्धता– दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने बताउनु भएको छ ।

शनिबार २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाठको सन्दर्भमा वक्तव्य जारी गर्दै अध्यक्षद्धयले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्षद्धयले  जननेता भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित भएको उल्लेख गर्दै अध्यक्षद्धयले भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गरेको बताउनुभएको छ ।

अध्यक्षद्धयले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता भएको उल्लेख गर्नुभएको छ ।

जारी वक्तव्यमा भनिएको छ, ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नुहुने कमरेड मदन भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गर्नुभएको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउनुभएको छ ।’

जेठ तीन अर्थात् आजकै दिन जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको चितवनको दासढुङ्गमा भएको रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको थियो । यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जीप दूर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ । तर, घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन । जारी वक्तव्यमा रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्र्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

भनिएको छ, ‘आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दूर्घटना मान्न तयार छैनन्, उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । २७औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्र्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ । उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प गर्दछ ।’

आज जेठ ३ गते, २७औं मदन–आश्रित स्मृति दिवस तथा ऐतिहासिक पार्टी एकीकरणको दोस्रो वर्षगाँठ । यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को तर्फबाट जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै पार्टीका सबै नेता, कार्यकर्ता, सदस्य, समर्थक एवं शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board