22 June, 2020 12:24 pm


बाख्रापालनबाट आत्मसम्मान

बाँके, ८ असार (रासस) : बाँकेमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्रापालन व्यवसायले आयआर्जन बढाउनाका साथै आत्मसम्मान पनि बढाएको छ । अहिले राप्तीसोनारीका महिला सफल बाख्रापालक कृषक बन्दै गएका छन् । ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोलि गर्व लाग्छ’, राप्तीसोनारी २ मधुवाकी लीला भन्डारीले भन्नुभयो, ‘एकपटक बाख्रापालन गरेकै कारण सम्मानित भएँ, सम्मानले अझै हौसला मिल्यो ।’ उहाँले गत वर्ष दशैंमा चार खसी सहकारीमार्फत बेच्नुभयो । तीन वर्षदेखि जननी सामाजिक उद्यमी सञ्जालमा आवद्ध भएर राप्तीसोनारीस्थित ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघको सहयोगमा भण्डारीले बाख्रापालन शुरु गर्नुभएको छ । एक दुई बाख्रा पाल्दै आउनुभएकी भण्डारीले सहकारीको सहयोगपछि २५ खसीबोका पाल्नुभएको छ ।

सहकारीको सहयोगमा गाउँका धेरैले बाख्रापालन गरेका छन् । ढकेरीस्थित सो सहकारीमा मात्रै बाँके र बर्दियाका करीब सात हजार महिला आबद्ध छन् । उनीहरुले पनि बाख्रा, भँैसी र बंगुरपालन गरेका छन् । घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि परिवार पाल्न सहज भएको उनीहरुको अनुभव छ । भण्डारीजस्तै राप्तीसोनारीकै ५० वर्षीया झलकुमारी वली पनि बाख्रापालनमा व्यस्त हुनुहुन्छ । अहिले उहाँसँग १७ बाख्रा छन् । यसअघि उहाँले दुई बाख्रा र तीन खसी बेचिसक्नु भएको छ । उहाँले पहिलेदेखि नै बाख्रा पाल्दै आए पनि सहकारीमा आबद्ध भएपछि पाएको ज्ञानका कारण बाख्रापालन व्यावसायिक बनेको छ । यसैबाट घरखर्चका साथै छोराछोरीको पढाइ खर्च टरेको उहाँले बताउनुभयो । बाख्रापालनबाट आएको आम्दानीकै कारण छोराछोरीलाई स्नातक तह पढाउन सहज भएको उहाँको भनाइ छ ।

सहकारीले तालीम पनि दिने गरेकाले बाख्रापालन गर्न महिला थप उत्साहित छन् । ‘पहिले पालेका खसी बेच्न दशैँ कुनुपर्ने अवस्था थियो तर अहिले चाहेको समयमा बेच्न पाइने भएकाले सहज छ’, उहाँले भन्नुभयो, ‘पहिले खसीबोका बेच्न समस्या थियो, अहिले सहकारीले नै बजारीकरण गरिदिन्छ, यसबाट सहज भएको छ ।’ बाख्रा पाल्न थालेपछि सहकारीले उन्नत जातका घाँसका बेर्ना सहयोग गरेपछि अहिले घाँस पनि घरमै रोपिएको छ । बाख्रापालनबाटै खुशी र आत्मासम्मान पाएकामा उहाँ दङ्ग हुनुहुन्छ । पहिले यो पेशा गर्दा हेप्ने चलन अहिले हराउँदै गएको उहाँको अनुभव छ । सहकारीले महिला उद्यमीलाई आवश्यक परेका समयमा पेस्की रकम पनि दिने गरेकाले बाख्रापालनमा थप सहज भएको उहाँको भनाइ छ । सहकारीले खसीबोका खरीदका लागि पाँच प्रकारको दर कायम गरेको छ । रु४४० देखि रु ५१५ प्रतिकिलोसम्म गरी पाँच मूल्य निर्धारण गरिएको छ । यसले बाख्रापालक महिला उद्यमीले उत्पादनका आधारमा उचित मूल्य पाउने गरेका छन् । दुई वर्षअघि ५३ किलोको खसी पहिले रु २५० प्रतिकेजीमा बेच्नुपरेको वलीले दुखेसो सुनाउनुभयो । अहिले सहकारीले नै न्यूनतम मूल्य निर्धारण गरेर खरीद गर्ने भएपछि खसीबोकाको राम्रो मूल्य पाउने गरेकाले महिला उद्यमी उत्साहित छन् । राप्तीसोनारी–२ कै ३० वर्षीया धनकुमारी खड्काका खोरमा पनि अहिले २५ खसीबाख्रा छन् । सहकारीकै कारण खसीबोका बेच्न उहाँलाई पनि पहिलेको जस्तो समस्या छैन ।

गत वर्ष मात्रै १० बाख्रा बेचिसक्नुभएका उहाँले यस वर्ष दशैंँमा चार खसी बिक्री गर्ने योजना रहेको बताउनुभयो । यहाँका महिलाले हेफर संस्थाको सहयोगमा व्यवस्थितत खोर निर्माण गरेका छन् । घरको दिनचर्यासँगै महिलाले बाख्रापालन गरेर आफैँ कमाउन थालेपछि आत्मासम्मान महसुस गरेको उहाँको भनाइ छ । सङ्घअन्तर्गत बाँकेका १५ र बर्दियाका चार सहकारीमा आबद्ध करीब सात हजार महिला उद्यमीले खसीबोका उत्पादन गर्दै आएका छन् । सङ्घमा आबद्ध महिलाले ढकेरीमा रहेको संकलन केन्द्रबाट खसीबोका बिक्री गर्ने गरेको अध्यक्ष गङ्गाचन्द ठकुरीले जानकारी दिनुभयो । सङ्घमा आबद्ध बाँकेका ११ हजार महिलाले खसीबोका, बंगुर, सुंगुर, कुखुरालगायत पशुपालन गर्दै आएका छन् । तीमध्ये ७ हजारले बाख्रापालन गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका महिलालाई आत्मनिर्भर बनाउनका लागि पशुपालनतर्फ आकर्षित गरिएको सङ्घका अध्यक्ष चन्दले बताउनुभयो । उन्नाइस सहकारीको छाता सङ्गठनका रुपमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घले गत वर्ष दशैंँतिहारमा झण्डै १० हजार खसीबोका बेचेको थियो । सङ्घले चाडबाडमा सहकारीमार्फत स्वस्थ खसीबोका खरीद गरेर बिक्री गर्दै आइरहेको सङ्घका अध्यक्ष चन्दले बताउनुभयो ।

सङ्घमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिचौलियालाई कम मूल्यमा विक्री नहून् भन्ने उद्देश्यले सङ्घले नै मूल्य निर्धारण गरेर खरीद गर्ने उहाँले बताउनुभयो । ‘बाख्रापालनमा सबै गृहिणी महिला मात्रै हुनुहुन्छ’, संघका अध्यक्ष चन्दले भन्नुभयो, ‘उहाँहरुले उत्पादन गरेका खसीबोका बिचौलियाले सस्तो मूल्यमा नलैजाऊन् भनेर सङ्घले खरीद गर्ने गरेको छ । यसबाट महिला उद्यमी ठगिनबाट जोगिनुभएको छ ।’ सङ्घले महिला उद्यमीलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने तथा बाख्रापालन व्यवसायमा आकर्षित गर्दै आधुनिक र व्यावसायिक तरीकाले बाख्रापालन गर्न ज्ञान र सीप दिँदै आएको उहाँको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board