26 June, 2020 12:01 pm


आर्थिक सङ्कटमा परेका बेला घरभाडा छुट दिने १७ घरबेटी सम्मानित

वालिङ, १२ असार । लकडाउनको कारण अहिले घरभाडामा बस्ने र व्यवसाय सञ्चालन गर्नेहरुलाई समस्या परिरहेको छ । तर, कतिपय घरधनिले भने घर भाडा छुट दिईरहेका छन् । त्यस्तै, लकडाउनका समयमा घरभाडा छुट दिने १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।

“लकडाउनका समयमा दैनिक गुजारा गर्ने अति विपन्न समुदाय तथा घरभाडामा लिई पसल सञ्चालन व्यवसायीप्रति भएको क्षतिलाई मध्यनजर गरी घरभाडा छुट दिने अभियान कार्यान्वयनमा जोड दियौँ”, अध्यक्ष पौडेलले भने, “आर्थिक सङ्कटका बाबजुत पनि व्यवसायी तथा अति विपन्न समुदायका परिवारलाई पनि घर भाडा छुट दिएर सकारात्मक सन्देश दिनुभएकोमा आभार व्यक्त गर्दछौँ ।”

लकडाउनका समयमा घरभाडा छुट दिने अन्य घरबेटीको पनि विवरण सङ्कलन भइरहकाले दोस्रो चरणमा पुनः सम्मान गर्ने तयारी रहेको सङ्घका कार्यकारी सचिव बाबुराम रेग्मीले बताए । घरबेटीले लकडाउनका समयमा एकदेखि तीन महीनासम्मको घरभाडामा छुट दिएका हुन् ।

लकडाउनका समयमा व्यापार व्यवसाय तथा दैनिक कामकाज गरेर जीविकोपार्जन गर्ने समुदाय आर्थिक सङ्कटमा परेका बेला घरभाडा छुट दिएर आफूले सहयोग गरेको वालिङ रामबाच्छाका पदमराज गुरुङले बताए ।

वालिङ नगरपालिकाभित्रका चुनमाया गुरुङ, नौबहादुर गुरुङ, सुमन गुरुङ, छलीमाय गुरुङ, दलबहादुर गुरुङ, क्याप्टेन रुकबहादुर गुरुङ, पदमराज गुरुङ, नमु मश्राङ्गी मगर, चौबहादुर गुरुङ, हेमप्रसाद गैह्रे, श्यामप्रसाद डुम्रे, खुमा अर्याल, पदमबहादुर खत्री, नीलकण्ठ भट्टराई, सेवाकुमारी गुरुङ, मञ्जु केसी, शम्भु अर्यालले घरभाडा छुट दिएसँगै सम्मान गरिएको वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board