29 June, 2020 10:51 am


पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने


काठमाडौँ, १५ असार । राष्ट्रिय खेलकूद परिषद (खेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ ।

पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे ।

सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उहाँले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण
राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

राखेप सदस्य–सचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीमा पिपिई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, स्यानेटाइजर, चस्मा र पञ्जा छन् ।

कोभिड– १९ को जोखिमलाई ख्याल गरी सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board