30 June, 2020 9:56 am


नेपाललाई धम्कीपूर्ण भाषाको प्रयोग गर्दै अमेरिकाले निकाल्यो विज्ञप्ती

काठमाडौं, १६ असार । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। नेपाललाई चेतावनी दिदै उक्त कोषको रकम नेपाललाई सधैं उपलब्ध नहुने विज्ञप्तीमार्फत् जनाएको छ । 

सोमबार विज्ञप्ति जारी गर्दै नेपालस्थित अमेरिकी दूतावसले संसदबाट अनुमोदन नभएकोबारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौताअनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो । तर, यस अन्तर्गतको कोषको उपलब्धता सधै खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छ ।’

एमसीसी सम्झौतालाई संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने अमेरिकाले जनाएको छ ।

वक्तव्यमा दुई देशले एमसीसीमा सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

‘यस ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन हो,’ विज्ञप्तिमा भनिएको छ । नेपालले असार १६ गते भित्रमा सम्झौताको शर्तअनुसार संसदबाट उक्त सम्झौतालाई अनुमोदन गरिसक्नु पर्ने थियो । तर, सत्तारुढ दल नेकपाभित्रकै विवादको कारण एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने पार्टीले टुंगो लगाउन सकेको छैन ।

यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्ने जनाइएको छ । अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board