काठमाडौं, १६ असार । नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।
केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् ।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताए ।
उनले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ओली दम्भ देखिएकोले अब राजीनामा मागेको स्थायी कमिटी सदस्यले बताएका छन् ।
यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गरेका छन् ।
त्यसपछि वरिष्ठ नेताद्वय खनाल, नेपाल र उपाध्यक्ष गौतमले पनि यसरी नै पार्टी र सरकार नचल्ने भन्दै दुवै पदबाट राजीनामा दिन भनेका थिए ।
COMMENTS