पोखरा, १९ असार । पोखरामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । युवा एवं विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रदर्शन गरेका हुन्।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नपाइने भन्दै उनीहरूले भारतीय दलाल होसियार, आज होइन भोलिलाई ५ वर्ष ओलीलाई, स्थिर सरकार जनताको चाहना, लगायतका नारा लगाए ।
बिहानैदेखि प्रदर्शनमा सहभागीहरू पानी परिरहेकाले रेनकोट र छाता ओढेरै प्रदर्शन गरेका थिए । प्रदर्शनपश्चात आयोजित कोण सभामा उनीहरुले प्रधानमन्त्री ओलीकै कारण आफूहरूले शिर उठाउन पाएको दाबी गरे ।
उनीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा र कालापानी नेपालका नक्सामा ओलीले नै ल्याएका भन्दै उनीहरुले ओलीले नै भारतले लगाएको नाकाबन्दी परास्त गरेको बताए । उनीहरुले प्रधानमन्त्री ओलीलाई ५ वर्षसम्म सरकार चलाउन सहयोग गर्न समेत आग्रह गरेका छन् ।
त्यसैगरी आज भक्तपुरको सूर्यविनायकमा आज केहि युवाहरुले प्रधानमन्त्री ओलीको पक्षमा जनप्रदर्शन गरेका थिए । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।
सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी समेत दिए । उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा राखेका थिए ।
नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे ।
सूर्यविनायकमा सुरु भएको र्याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो ।
COMMENTS