काठमाडौं, २२ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज र्वार्ता हुँदै छ ।
पछिल्लो समय पार्टी भित्र देखिएको चर्को मतभेद सुल्झाउने भन्दै कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका अध्यक्षद्वय आज पनि वार्तामा बस्दै छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । त्यसका लागि विहान ११ बजेको स्थायी कमिटी बैठकअघि नै सहमतिको प्रयास हुने नेताहरूले बताएका छन् ।
नेकपा स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको थियो । सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको हो ।
स्रोतले भन्यो, दुई अध्यक्ष र ईश्वर कमरेड बाहेक वार्तामा सहभागी दुई–दुईजनाले आज सम्म गृहकार्य गर्नुहुन्छ । सहमतिको कुनै विन्दू निस्कन सक्छ भनेरै उहाँहरुलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको स्रोतले बताएको छ ।
आइतबारको वार्तामा ओलीले विगतका कमी कमजोरी सच्याउँदै जाने तर सरकार नछाड्ने र पार्टीको सेरमोनियल अध्यक्षको भूमिकामा रहने बताएपछि नेताहरूले त्यसमा सहमतिको विन्दु पहिल्याउन गृहकार्य सुरू गरेको स्रोतले बताएको छ ।
COMMENTS