6 July, 2020 11:08 am


भारत कोरोना भाईरसबाट प्रभाबित विश्वकै तेस्रो मुलुक बन्यो

काठमाडौं, २२ असार । कोरोना भाईरस (कोभिड – १९) बाट प्रभाबित बन्ने विश्वका मुलुकहरुमध्ये भारत तेस्रो मुलुक बनेको छ । भारत (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा देखिएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका चार लाख २४ हजार ४३३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८२२ जनाको मृत्यु भइसकेको छ ।

तामिलनाडुमा अहिलेसम्म एक लाख ११ हजारभन्दा धेरै संक्रमित फेला पर्दा एक हजार ५१० जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा पनि ९९ हजारभन्दा संक्रमित फेला परेका छन् भने तीन हजार ६७ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २७ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७८५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७५७ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि ११ हजारभन्दा धेरै संक्रमित भेटिँदा ९५ जनाको मृत्यु भइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board