9 July, 2020 3:08 pm


भारतले नेपालको नयाँ नक्साको विरोध गर्दै पठायो कूटनीतिक नोट

काठमाडौं, २५ असार । नेपालको नयाँ नक्सको विरोध गर्दै भारतले कुटनीतिक नोट पठाएको छ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको हो ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतको कूटनीतिक नोट आएको बताए । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’

भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा प्रतिक्रिया दिएको छैन । तर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले सार्वजनिक रूपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् । यसअघि नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भू–भाग परेको भन्दै नेपालले विरोध गरेको थियो । कूटनीतिक नोट पठाउनुका साथै दुई पटक वार्ताको प्रस्ताव पनि गरेको थियो, तर भारत तयार भएन ।

त्यसयता नेपालले पटकपटक सीमाबारे वार्ताका लागि समय तोकेर पत्र पठाएको थियो । तर, भारत सरकारले भने नेपालको पत्रप्रति चासो दिएको थिएन । कुनै प्रतिक्रिया दिएको थिएन । लिम्पियाधुरा भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो ।

भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै आएको थियो । त्यतिबेला पनि नेपालले भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट पठाएको थियो ।

भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेको थियो । उसले नेपालका केही कुरा भएमा कोरोना भाइरसको प्रकोप सकिएपछि वार्ता गर्ने भन्दै आएको थियो । नेपालसँग वार्ता टार्दै आएको भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि भने नेपालले नक्सा जारी गरेको थियो । नेपाल सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । नेपालले नक्सा जारी गरेको एक महिनापछि भारतले कूटनीतिक नोट पठाएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board