10 July, 2020 1:30 pm


बागलुङमा पहिरोले स्वास्थ्यचौकी जोखिममा

बागलुङ, २६ असार । बागलुङ नगरपालिका–९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ । भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ ।

केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । तत्काल पहिरो रोकथाम नगरे थप क्षति हुने देखिएको छ । “१५० घटनमिटर जतिमा ग्याबिन जाली लगाउनुपर्ने भएको छ”, उनले भने, “तलैदेखि संरचना बलियो नबनाए सँधै जोखिम निम्तने खतरा छ ।”नगरपालिकादेखि प्रदेश र सङ्घ सरकार मातहतका कार्यालयसँग पनि जाली माग गरिएको छ । आर्थिक वर्ष सकिन लागेकाले स्रोत जुटाउन कठिनाइ भएको जनाइएको छ ।

सडक किनारादेखि नै ग्याबिन जाली लगाउने वडाको योजना छ । पहिरो राकथामसहित मर्मत, सुधारको काम गर्न झण्डै रु १५ लाख खर्च हुने अनुमान छ । भवनको माथिल्लो भू–भागमा पनि पहिरोको जोखिम छ । भवन बनाउने बेलैमा जग बलियो नबनाएका कारण समस्या आएको जनाइएको छ ।

पहिले खेत रहेको ठाउँ सम्याएर स्वास्थ्यचौकी भवन बनाइएको हो । भवन बनाउन गाउँलेले जग्गा दान गरेका थिए । “स्वास्थ्यकर्मीदेखि सेवा लिन आउने सर्वसाधारणलाई पनि पहिरोको डर छ”, स्वास्थ्यचौकी प्रमुख नारायण पौडेलले भने, “छिटो ग्याबिन लगाएर पर्खाल उठाउनुपर्छ ।” भवनअघिकै भाग धसिएकाले भित्र आवतजावत गर्नसमेत वैकल्पिक उपाय गरिएको छ ।

कतिखेर पहिरो खस्छ भन्ने डरले सो भवन तलको सडकमा हिँडडुल गर्नेसमेत त्रसित बन्ने गरेका छन् । जोखिमका कारण सेवा लिन आउनेको सङ्ख्या पनि घट्न थालेको उनको भनाइ छ । भर्खर बनेको भवन पहिराको जोखिममा परेपछि स्थानीयवासी चिन्तित छन् । भवन बनाउँदा प्राविधिक अध्ययन अपुग भएको हुनसक्ने वडाको ठहर छ ।

पुरानो भवन जीर्ण बनेपछि रु दुई करोड तीन लाखको लागतमा यसै वर्ष नयाँ भवन बनाइएको हो । स्वास्थ्यचौकीलाई दुई महिनाअघि मात्र नयाँ भवनमा सारिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board