काठमाडौँ, २९ असार । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापतिसहितको टोलीले आज रानीपोखरी, धरहरा र काष्ठमण्डप पुनःनिर्माणको आज स्थलगत अवलोकन गरेका छन् ।
समितिका सभापति कल्याणीकुमारी खड्कासहितको टोलीले तीनवटै सम्पदाको स्थलगत अवलोकन गरी सन्तोषजनक रुपमा काम भइरहेको प्रतिक्रिया दिएकी छिन् । उनले लामो समय विभिन्न आन्तरिक समस्याका कारण काम हुन नसकेको भए पनि पछिल्लो समय उत्साहजनक रुपमा काम भइरहेको बताईन् ।
काष्ठमण्डपको दोस्रो तलाको काम शुरु
केही समय अघिदेखि काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएको समितिलाई जानकारी दिनेक्रममा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको शुरुको समयमा केही दिन काम प्रभावित भए पनि पछिल्लो समय पहिलेकै रफ्तारमा काम भइरहेको जानकारी दिए ।
उनका अनुसार पहिलो तलाको काम सकी दोस्रो तलाको काम भइरहेको छ । हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । दैनिक ३५ जना कामदारले काम गरिरहेका छन् । विसं २०७२को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वर्ष वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो ।
गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रूपमा सो सम्पदाको पुनः निर्माण शुरु गरिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो ।
रानीपोखरीमा एक महिनाभित्र पानी
पानी भर्ने तयारीमा रहेको रानीपोखरीमा अहिले सौन्दर्यकरण र मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । ऐतिहासिक पोखरीमा २०७२ सालमा गएको गोर्खा भूकम्पपछि आगामी साउनभित्र पानी भर्ने तयारी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ ।
लामो समय काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि काम अघि बढ्न नसकेपछि पछिल्लो समय प्राधिकरणले निर्माण कार्य तीव्र रुपमा काम गरिरहेको छ । अहिलेसम्ममा पोखरीको काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम ४५ प्रतिशत सकिएको छ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।
प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात नेसं. ७८९ ९विसं १७२५० मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं. १७२७ ईसं १६७०) मा शिलापत्र राखिएको थियो ।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
COMMENTS