14 July, 2020 11:16 am


आजका पत्रपत्रिका: लालपुर्जा हातमा जमीन भारतमा, कालापानीसम्मै छैन हाम्रो पहुँच !

आजका पत्रपत्रिकामा बाढी र पहिरो विशेष खबर रहेको छ । कान्तिपुर दैनिकले बाढी-पहिरोको विषयलाई नै मुख्य खबर बनाएको छ, भने आजको नागरिक दैनिकले सरकारी जग्गा हिनामिना भएको विषयलाई मुख्य खबर बनाएको छ । त्यस्तै आजको नयाँ पत्रिका दैनिकले ललपुर्जा हातमा जमिन भारतमा शिर्षक रहेको खबरलाई कभर स्टोरी बनाएको छ । आजको अन्नपुर्ण पोष्टले पहिलो पृष्ठमा ‘कालापानीसम्मै छैन हाम्रो पहुँच’ शिर्षकमा खबर छापेको छ । समाचार अनुसार नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्।

दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट बीओपी बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको छ। सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोली करिब ६ घण्टा हिँडेर मल्लो माथिल्लो कौवाभन्दा केही माथिको क्षेत्रसम्म पुगेको हो। भारतले बनाएको नक्कली काली मन्दिरभन्दा १.२ किलोमिटरयता भारतीय फौजसँग उनीहरूको भेट भएको थियो। भारतीय पक्षले ‘निषेधित क्षेत्र’ भन्ने जानकारी दिए। र, नेपाली टोली त्यहींबाटै फर्कियो ।

त्यस्तै, अन्नपुर्ण पोष्टले पहिलो पृष्ठमा ‘पहिरोले परिवारै उजाड्यो ‘ शिर्षमा खबर छापेको छ । समाचार अनुसार तनहुँको ऋषिङ–८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो। नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्।

आनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेवको पनि ज्यान गएको छ।

त्यस्तै, ‘चार दिन सम्म पुगेन राहत’ शिर्षकमा आजको कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ । म्याग्दी, जाजरकोट, सिन्धुपाल्चोक र संखुवासभामा गरी बाढी पहिरोबाट विस्थापित १७ सय जना गाँसबासकै समस्याले बिचल्लीमा परेका छन् । तनहुँमा पनि सोमबार पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने २ बेपत्ता र ३ घाइते छन् । बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्‍याउन नसकिएको हो ।

त्यस्तै, आजको राजधानी दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेको खबरलाई पहिलो पृष्ठमा छापेको छ । समाचार अनुसार प्रधानमन्त्री ओलीले यस प्रकरणमा भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताए । भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको स्पष्ट पारे । यो खबर ‘अयोध्या भारतको होइन, नेपालकै हो : प्रधानमन्त्री’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, तनहुँका विभिन्न स्थानमा आइतबार राति पहिरो जाँदा १० जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–९ माझफाँटका दुई घर, ऋसिङ गाउँपालिका–८ पट्याङको एक घर र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाका एक घर गरी चार घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो । यो खबर आजको राजनधानी दैनिकमा पहिलो पृष्ठमा ‘परिवार नै सखाप हुने गरी ठाउँठाउँमा पहिरो १० जनाको मृत्यु, २ जना बेपत्ता’ शिर्षकमा मुख्य खबर रहेको छ । खबर अनुसार अविरल वर्षापछि आइतबार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरामा पुरिँदा परिवारका तीन सदस्यको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

आजको नयाँ पत्रिका दैनिकले ‘कलियुगका जनताको भूमि भारतको कब्जामा, त्रेतायुगका राजकुमारको जन्मभूमि खोज्दै प्रधानमन्त्री’ शिर्षमा रहेको खबरलाई मुख्य बनाएको छ । समाचार अनुसार सुस्तासहित ७१ ठाउँमा अतिक्रमण मात्र गरेको छैन, सीमा क्षेत्रका दशौँ हजार नेपालीलाई प्रताडित गरेको छ ।

भारतीय प्रहरीबाट अपहेलित नेपाली जनताको समस्या समाधान भएको छैन, प्रधानमन्त्री केपी ओलीले त्रेता युगका रामको जन्मभूमि नेपाल हो कि भारत भनेर नयाँ बहस जन्माएका छन् । नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तर धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् ।

त्यस्तै, सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।

सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् । आजको राजधानी दैनिकले ‘उपत्यकामा गुड्न थाले सार्वजनिक यातायात ‘ शिर्षकमा खबर छापेको छ ।

त्यस्तै, देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो ।

केन्द्रीय अस्पतालहरूमा आकस्कि सेवा निःशुल्क बनाउने उद्देश्यले मस्यौदा लेखन अन्तिम चरणमा पुगेको बताइएको छ । सरकारको नीति तथा कार्यक्रममा गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । आजको राजधानी दैनिकमा पहिलो पृष्ठमा यो खबर ‘आकस्मिक सेवा निशुल्क गर्ने तयारी’ शिर्षकमा छापिएको छ ।

हेर्नूहोस् के के छापिए आजका पत्रपत्रिकामा

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board