17 July, 2020 3:08 pm


कोरोनाको असर मुख्य सडकमा सकस

काठमाडौं, २ साउन । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण कार्य रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ ।

पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रेका काम शुरु भएको छ तर कुनै पनि सडक कालोपत्रे गर्ने चरणमा पुगिसकेका छैनन् । निरन्तरको वर्षाले निर्माणाधीन सडकमा सवारी सञ्चालनमा गर्न कठिन भएपछि ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान, गाउँमा खाद्यान्न ढुवानी गर्न तथा ग्रामीण क्षेत्रमा उत्पादित सामग्री बजारसम्म पु¥याउन समस्या भएको छ । हिलाम्य सडकमा सवारी फस्ने, दुर्घटनाको सम्भावना उच्च हुने तथा सवारीमा क्षति हुने भएपछि यातायात व्यवसायी तथा चालकसमेत सवारी चलाउन तयार छैनन् ।

ग्रामीण सडक विस्तार तथा स्तरवृद्धिका काम धमाधम चलिरहेको समयमा कोरोना भाइरसको महामारी तथा बन्दाबन्दी शुरु भएपछि सबै आयोजनाको काम अगाडि बढ्न सकेको छैन । अधिकांश निर्माण कम्पनी सडक निर्माणका कामलाई यथास्थितिमा छोडेर हिँडेका छन् । अधिकांशले कामदारलाई घर पठाएका छन् ।

जिल्लाको फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकासहित पूर्वी पहाडका इलाम र धनकुटासमेत जोड्ने राँके–रबी–भेडेटार सडकमा सवारी सञ्चालन नहुँदा उक्त क्षेत्रका सर्वसाधारणमा मारमा परेका छन् । कोभिड–१९ को महामारी तथा बन्दाबन्दी शुरुआत भएसँगै १०१ किलोमिटर लामो यो सडक निर्माण गरिरहेको भारतीय कम्पनी काम छोडेर हिँडेको छ । बन्दाबन्दीसँगै निर्माण रोकिएपछि सडक समस्याग्रस्त भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ । “निर्माणाधीन सडकलाई हाम्रो लगानीले मात्रै सुधार गर्न सकिने अवस्था नरहेकाले समस्या परेको छ”, कुरुम्बाङले भन्नुभयो । अहिले अत्यावाश्यक काम पर्ने कतिपय सर्वसाधारणले हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

सदरमुकामबाट उत्तरपूर्वी क्षेत्र जोड्ने फिदिम–फालोट सडक तथा दक्षिणपश्चिम जोड्ने फिदिम–यासोक–मौवा सडक हिलाम्य भई सवारी सञ्चालनमा समस्या परेको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै निर्माण कम्पनीले नाली तथा पर्खाल निर्माणका काम थालेका छन् तर तत्कालै सडकको अवस्था सुधार हुनसक्ने अवस्था छैन । विस्तार र स्तरोन्नतिको कार्य चलिरहेका सडक निरन्तरको वर्षासँगै ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । जिल्लाको तुम्बेवा गाउँपालिका–३ का वडाध्यक्ष कमल थापाले भने “विस्तारका लागि भत्काइएका सडकको अवस्था दयनीय छ । सवारी फस्ने, बिग्रने समस्या छ । ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान निकै कठिन छ ।”

ग्रामीण क्षेत्रका शाखा तथा अन्य सडक भने स्थानीय तहको लगानीमा मर्मतसम्भार भएका छन् । तुलनात्मक रुपमा ग्रामीण क्षेत्रका शाखा सडकमा भन्दा मुख्य ग्रामीण सडकमै सवारी सञ्चालनमा कठिनाइ परेको सवारी चालकको भनाइ छ । यस वर्ष निरन्तर वर्षा भइरहेकाले सडकमा थप समस्या देखिएको सवारी चालक मीनबहादुर तामाङको भनाइ छ । “यस वर्ष वर्षासँगै ढुवानीका साधनसमेत सञ्चालनमा आए । जसकारण कच्ची सडकमा थप क्षति भयो”, उनले भने।

निर्माणाधीन तमोर कोरिडोर सडकका कारण जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तमोर नदी तटीय क्षेत्रका सर्वसाधारणले भने केही सुविधा पाएका छन् । वर्षाले उक्त सडकमा कम प्रभाव पारेको छ भने कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा समेत निर्माण कार्य नरोकिएको उक्त सडक हेर्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेको भनाइ छ । उक्त सडकबाट धनकुटाको मुलघाट हुँदै सुनसरीको धरान पुग्न सकिन्छ । “उक्त सडकबाट तराई झर्नेभन्दा सदरमुकाम जानेको सङ्ख्या उल्लेख्य हुने गरेको छ”, तुम्बेवा–३ का वडाध्यक्ष थापाले भने, “जसकारण धेरै समस्या भोग्नुपरेको छ । मैले भतिजोलाई उपचारमा झापा पठाउन तीनवटा सवारी बदल्नुप¥यो ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board