म्याग्दी, ४ साउन । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितलाई खाली घरमा व्यवस्थापन गरिएको छ । असार २५ गतेको पहिरोबाट घरबास गुमाएका पीडितलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा गएर खाली भएका घरमा व्यवस्थापन गरिएको हो ।
सामुदायिक भवन, विद्यालय र अस्थायी टहराको विकल्पमा घरधनीको सहमतिमा पहिरोपीडितलाई राखी घरमा राख्न थालिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए । “पहिरोलगत्तै किसानी मावि र मालिका आधारभूत विद्यालयको भवनमा पीडितलाई राखेका थियौँ”, उनले भने ।
“धेरैजसोलाई खाली भएका आफन्तका घरमा सारेका छौँ । बाँकी भएकालाई पनि राख्न घरको खोजी भइरहेको छ ।” बिमको दुले, नौरु, दुले, डाँडागाउँ र बाइन्दफाँटमा गएको पहिरोमा आठ जनाको ज्यान गएको थियो । पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ घर पूर्णरूपमा क्षति पुगेको छ । पचास घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् ।
उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँका आफन्तकोमा सारेका छन् । दिनमा घरमा गए पनि रातको समयमा उनीहरु त्यहाँ सुत्दैनन् । बाइन्दफाँटका पाँच र तल्लोगाउँका तीन परिवारलाई व्यवस्थापन गर्न बाँकी छ । स्थायी आवासको बसोबास नहुँदासम्म खाली भएका घरमा व्यवस्थापन गर्ने नीति लिइएको हो ।
आर्थिक, सामाजिक, सुरक्षा र व्यवस्थापनका हिसाबले खाली घरमा बस्दा धेरै सहज हुने पहिरोपीडितको भनाइ छ । स्थायी बसोबासका लागि जग्गाको खोजी गर्न पहल भएको छ । पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले समेत सघाउन आर्थिक सङ्कलन गरिरहेका छन् ।
पहिरोमा परेर श्रीमती र छोरीलाई गुमाएका दुलेका सोमनाथ शर्माको परिवार मङ्गला गाउँपालिकाको तोराखेतस्थित दाइको घरमा गएर किरिया बसेका छन् । एलिशा केसीका अभिभावक पनि चुत्रेनीस्थित आफन्तकहाँ गएर किरिया बसेका छन् । बिम तल्लोगाउँका एक परिवारमा भएका तीन जनाकै ज्यान गएको थियो । अर्को परिवारमा दुई जनालाई गुमाएका एक जना घाइते भएकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।
बिममा रहेका युवा क्लबले पहिरोका कारण अवरुद्ध भएको खानेपानी र घोरेटो बाटो मर्मत गरेका छन् । विद्यालयमा बसेको अवस्थामा आमा समूहले पहिरोपीडितलाई खाना खुवाउन सहयोग गरेका थिए । पहिरोमा बेपत्ताको खोजी, उद्धार र राहत तथा पीडितको व्यवस्थापनमा समेत युवा क्लब र आमा समूहले सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई सघाएका थिए ।
बिम खारा हुँदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने सडकअन्तर्गत दाङखोला र म्याग्दी नदीको दोभानस्थित बाधराजथानसम्म मर्मत भएको छ । त्यहाँ सडकको आधारसहित धेरै भाग कटान भएकाले मर्मतमा चुनौती थपिएको छ । अवरुद्ध विद्युत् सेवालाई सञ्चालनका लागि समेत नेपाल विद्युत् प्राधिकरणसँग पहल भएको छ ।
सडक खुलाएर पहिरोपीडितलाई अस्थायी बसोबासका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान उपलब्ध गराउने योजना बनाएको वडाध्यक्ष जुग्जालीले बताए ।
ड्रोनको प्रयोग गरेर पहिरोको अध्ययन
पहिरोको जोखिम अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा ड्रोनको प्रयोग गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म बागलुङबाट आएको टोलीले पहिरोको जोखिमयुक्त बस्तीमा स्थलगत निरीक्षणका साथै आकाशमा ड्रोन उडाएर दृश्य र तस्वीर सङ्कलन गरेको हो ।
असार ३० गते प्रहरी निरीक्षक सागर रानाको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा गएको बागलुङका सात र गण्डकी प्रदेश प्रहरी कार्यालयको तीन जनाको टोलीले धारापानी, ताकम, काफलडाँडा र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो । जमीन धाँजा फाटेर पहिरो जान लागेको र गइसकेको ठाउँमा पुगेर अध्ययन गरेको थियो ।
धेरै भूगोल र पहिराले असर पार्न सक्ने क्षेत्रको दृश्य तथा तस्वीर देखिने भएकाले तस्वीर तथा दृश्य सङ्कलनमा ड्रोन क्यामेराको प्रयोग गरेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।
गाउँपालिकाको अनुरोध र विपद् व्यवस्थापन समितिको योजनाअनुसार ड्रोनबाट तस्वीर र दृश्य सङ्कलनका लागि बेनीको नमस्ते म्याग्दी डिजिटल कलर ल्याबका कृष्णराज पौडेल पहिरो प्रभावित क्षेत्रमा जनाएका थिए । टोली शनिबार फर्किएको छ ।
विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् । उनीहरुले कल्लेनीको पहिरोमा बेपत्ता दुईको दुई दिनसम्म खोजी गरे पनि फेला पार्न सकेनन् । मानवीय क्षति नभए पनि धारापानी, ताकम, आटेवीर र काफलडाँडामा करिब २५० घरधुरी र मालिका गाउँपालिकाको देवीस्थानमा ९० घरधुरी पहिरोको उच्च जोखिममा छन् ।
जमीन धाँजा फाटेर घर भत्किने, पर्खाल चिरा पर्न थालेपछि स्थानीयवासी आफन्त, सामुदायिक भवन र खाली भएका घरमा बसेका छन् । गत असार २५ गतेको पहिरोका कारण धवलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम र रघुगङ्गाको ठाडाखानीमा २८ जनाको ज्यान गएको छ । तीन जना अझै बेपत्ता छन् ।
पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिकरूपमा क्षति पुगेको छ । ६०६ पूर्ण र २०४ जना आंशिकरूपमा प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दरवाङबाट ताकम, बिम र मराङ जोड्ने सडक अवरुद्ध भएको छ । ताकम धारापानी हुँदै दरवाङ जोड्ने सडक मर्मत अन्तिम चरणमा पुगेको छ ।
दरवाङबाट बिम हुँदै मराङ जोड्ने सडक मर्मत पनि भइरहेको छ । सडक, विद्युत्, सञ्चारसेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुर्नवासका काममा अप्ठ्यारो भएको छ ।
COMMENTS