काठमाडौं, ४ साउन । अपहरण पश्चात आफ्नै भान्जाको हत्या गरेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेका थिए ।अभियुक्तले हत्यापछि शव भरियालाई बोकाएर कमलादीको सडकमा लगेर फ्याकिदिएका थिए । त्यसको ३ दिनपछि असोज २७ गते बालको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो । रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त भएका थिएनन् ।
घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हालपनि कारागारमै रहेका छन् ।
COMMENTS