20 July, 2020 2:57 pm


प्रचण्डले भने – ‘पार्टीभित्र केही समस्या देखिए पनि सहमति गरेरै अगाडि बढिन्छ’

काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानको प्रयास जारी रहेको बताएका छन् । सोमबार विहान पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले बताएका हुन् ।

खुमलटार निवासमा पूर्व माओवादीका स्थायी कमिटी सदस्य तथा अन्य नेताहरुलाई बोलाएर अध्यक्ष प्रचण्डले अहिलेसम्म भएको सहमतिको प्रयास, सचिवालय र दुई अध्यक्षबीचको छलफल र उपलब्धीका बारेमा छलफल गरेको पूर्व माओवादीका नेताहरुले बताएका छन् । तर, बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्ट भने काम विशेषले व्यस्त रहेकाले उपस्थिति नरहेको श्रोतको भनाई छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले विहान भेला भएपनि अहिलेसम्म भएको सहमतिको प्रयासबारेमा अध्यक्ष प्रचण्डले व्रिफिङ मात्र गरेको जानकारी दिए । “बैठक भएपछि अध्यक्षज्यूको कुरा सुन्ने र लागेको सुझाव दिने काम त भइहाल्छ नै, तर मूलतः वार्ता र बैठकमा भएका सहमतिको उपलब्धी र अवस्थाबारेमा प्रष्ट पार्नेकाम अध्यक्षज्यूले गर्नुभयो” नेता गुरुङ्ले भने ।

अध्यक्षबीचको सहमतिको प्रयासलाई सकारात्मकरुपमा लिंदै पार्टी एकतालाई कायम राख्दै सहमति गर्न सुझाव दिइएको बताए । “पार्टीभित्र केही समस्या देखिए पनि सहमति जुटाउने प्रयास जारी छ, सहमति गरेरै अगाडि बढिन्छ” अध्यक्ष प्रचण्डले बैठकमा नेताहरुलाई भनेको गुरुङले जानकारी दिए ।

पार्टीमा गम्भीर समस्या उत्पन्न भएपनि त्यसको व्यवस्थापन गरेर अगाडि बढ्ने विश्वास अध्यक्ष प्रचण्डले नेताहरुलाई दिलाएका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डबीच नियमितरुपमा बालुवाटारमा सहमतिका लागि वार्ता र संवाद भइरहेको छ । दुई अध्यक्षबीच सहमति कायम गर्न सहज होस् भनेर पार्टीको स्थायी कमिटी बैठक पटक पटक सारिएको छ । भोलि ६ गते ११ बजेका लागि पनि स्थायी कमिटी बैठक आव्हान गरिएको छ ।

यो पनि पढ्नुहोस्
प्रचण्ड निवासमा पूर्वमाओवादी नेताहरुको छलफल

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board