21 July, 2020 2:36 pm


बन्दाबन्दीमा धमाधम पक्राउ पर्न थाले फरार अभियुक्त

काठमाडौं, ६ साउन । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार ई वर्गको सवारी चालक अनुमतिपत्र लाइसेन्स मा ए र बी वर्ग थपेर बस्नेतले कीर्ते लाइसेन्स बनाएका थिए । अरु बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्त बस्नेत बन्दाबन्दीका बेला आफ्नै घरमा आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । अदालतले कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरेको छ ।

झापा गाउँपालिका–५ का ३४ वर्षीय रुपनारायण शिवाकोटी दोस्रो विवाह गरेको अभियोगमा विसं २०७० चैत ९ गतेको फैसला बमोजिम झापा अदालतबाट एक वर्ष पाँच महिना कैद र रु १५ हजार जरिवाना तोकिएका अभियुक्त हुन् । विवाह गरी फरार रहेका शिवाकोटी पनि अरु बेला अन्यत्रै भागीभागी हिँड्दै आएका थिए तर बन्दाबन्दीका बेला घर आएका उनलाई आइतबार पक्राउ गरी अदालतमा हाजिर गराइएको छ । हाल उनी कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन् ।

नागरिकता, हत्या, बलात्कारलगायतका थुप्रै मुद्दामा कैद तोकिएका फरार अभियुक्तहरु बन्दाबन्दीमा प्रहरीले पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । झापा जिल्लामा प्रहरीले गत एक वर्षमा ९० फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट रु एक करोड सात लाख ७२ हजार २०० जरिवाना र जम्मा कैद ६१ वर्ष ११ महिना आठ दिन असुल गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board