बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय नउठ्ने , स्थायी कमिटी एजेण्डाअनुसार अघि बढ्ने

काठमाडौँ, १२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले उठाउँदै आएको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय नउठ्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक एजेण्डाअनुसार अघि बढाउने बताएपछि प्रधानमन्त्री ओलीको राजीनामाको विषय नउठ्ने भएको हो ।

सोमबार प्रचण्ड निवास खुमलटारमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग छलफल गर्दै प्रचण्डले स्थायी कमिटी बैठक एजेण्डाअनुसार नै अघि बढ्ने बताएका छन् । साउन १३ गते (भोलि) हुने तय भएको स्थायी कमिटी बैठक कुनै पनि हालतमा नसार्ने र पूर्व एजेण्डाअनुसार नै छलफल अघि बढाउने निष्कर्ष निस्किएको खुमलटार स्रोतले जनाएको छ ।

असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि पटकपटक स्थगित हुँदै आएको छ । अध्यक्ष प्रचण्डले एजेण्डाअनुसार नै स्थायी कमिटी बैठक अघि बढाउने बताएपछि नेताहरु खनाल र नेपालले पनि सहमति जनाएको बैठकमा सहभागि एक नेताले बताए । एजेण्डाअनुसार बैठक अघि बढाइने भएपछि स्थायी कमिटीमा अव प्रधानमन्त्रीको राजीनामाको बिषय स्थगित भएको नेताहरुको बुझाइ छ ।

एजेण्डाअनुसार नै स्थायी कमिटीको बैठक अघि बढाउनेमा नेता खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमति जनाएसँगै भोलिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय नउठ्ने भएको हो । यसैबीच अध्यक्ष प्रचण्डले आजै उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटवार्ता गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board