नेकपा भित्र देखिएको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनिश्चितकालका स्थायी समिति बैठक स्थगन गरेपछि विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा स्थायी कमिटि सदस्य तथा नेता लीलामणी पोखरेलसँग अनन्त अनुरागले नेपालपेजका लागि गरेको कुराकानी :
के अव नेकपा फुटको संघारमा पुगेकै हो ?
पहिलो कुरो नेकपा फुट्दैन, केही फुटवादी प्रवृत्तिहरु छन् । किन फुट्दैन भन्दाखेरी राजनीतिको मुलधार, विचारको मुलधार, फुटेको हुँदैन । विचारमा आउने डेभिएसनहरु विभक्त भएर जाने हुन् । त्यसकारणले मैले कसरी बुझ्छु भने, त्यस्तो परिस्थितिमा केही चोइटिने, झर्ने, जाने, त्यो प्रक्रिया हुनसक्छ । कहिलेकाहिं चोइटिंदा अलि ठूलो, कहिले सानो हुन सक्दछ । कहिले सानातिना असन्तुष्टिहरु व्यक्त गरेर बाहिरिने भई रहन्छ । आन्दोलन भनेको एउटा लक्ष्य निर्धारण गरेको हुन्छ, त्यो लक्ष्यमा पुग्ने सन्दर्भमा निराशा र थकावट एउटा सिद्धान्त हुन्छ । त्यो लक्ष्यमा पुग्न सकिंदैन कि भनेर असंभव देख्दछ, अनि एउटा एउटा बहाना देखाएर यताउता भाग्ने प्रवृत्ति देखा पर्नसक्छ । यो मैले सैद्धान्तिक रुपमा भन्दैछु ।
नेपाली कम्युनिष्ट आन्दोलन महाअभियान हो । यो अभियानमा उतारचढाव भएका छन्, भोगेका छौं । २०१४ सालतिर पनि विचार एकातिर नेतृत्व अर्काेतिर भएको थियो । केशरजंग रायमाझी पार्टीले जुन विचार तय गरेको थियो, त्यसमा हुनुहुन्नथ्यो । पुष्पलालले छानेको विचार विचार हाबी भएको थियो । तर नेतृत्व केशरजंग रायमाझीले गरेको थियो । नेतृत्व छान्दा महमोहन अधिकारी चीनमा हुनुहुन्थ्यो, महासचिव छानिदाँखेरी केशरजंग रायमाफी छानियो । अहिले पनि लगभग त्यस्तै देखिएको छ । तर हामी फुट्न दिदैंनौं ।
त्यसो भए, पार्टीको मूलधारको विचार र सिद्धान्तमा केही फरक छैन ?
त्यो विषयमा नै भिन्नता भएर, त्यो कार्यान्वयन गर्न सकिंदैन भन्नेहरु यताउता लाग्ने । म स्पष्टरुपमा के भन्न चाहन्छु भने, हाम्रो पार्टीले समाजवादी कार्यदिशालाई अंगिकार गरेको छ, त्यसको निम्ति समाजवाद उम्मुख समाज निर्माण गर्ने भनेर पार्टीको दस्तावेजले तय गरेको नीति छ । त्यो कुरा हाम्रो संविधानको प्रस्तावनामा पनि उल्लेख गरेका छौं ।
हाम्रो उदेश्य के हो भने, सामाजिक उत्तरदायित्वसहितको राज्य प्रणाली विकास गरेर अगाडि जाने हो । त्यसैलाई पुरा गर्नका लागि हामीले चुनावी घोषणापत्र बनायौं । पार्टीको घोषित नीतिबाट पनि विचलित हुने, पार्टी निर्वाचन घोषणापत्रबाट विचलित हुने। हामीले त राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख समाज निर्माण गरेर सम्बृद्ध नेपाल निर्माण गर्ने भनेको हो नि त ? अनि अरु कुरालाई छाड्ने, अनि सम्मृद्ध नेपाललाई मात्र बोकेर गयो भने के हुन्छ भने, जुन आधारभूत आधारमा समाजवाद निर्माण गर्ने सोचिएको छ नि, त्यो आधारलाई भत्काएर पूँजीवादी सामाजिक संरचना, आर्थिक संरचना, राजनीतिक संरचनामा गयो भने, हो यहींनिर हो विचलित हुने । अहिले के भइदियो भने, अहिले एकल नेतृत्वको हाम्रो सरकार छ, कानुन बनाउन नि समस्या थिएन, तर पार्टीको नेतृत्वले अर्थ व्यवस्थालाई नवउदारवादी अर्थ व्यवस्थातर्फ लगिदियो ।
त्यसतर्फ लागेपछि सामाजिक दायित्वबाट पन्छिन थाले । अर्काे, राष्ट्रियता सम्बर्धन गर्न । तर विदेशी दलाल पुँजीले त्यो राष्ट्रियता माथि नै हमला गर्छ । बजेटमा पनि कतिपय त्यस्तै उदाहरण दिन सकिन्छ ।
हामी यसरी बुझौं त, पार्टीको नीति कार्यक्रमलाई बुझ्ने र लागुगर्ने सन्दर्भमा नेतृत्वमा समस्या छ ?
त्यतिमात्र पनि होइन, पहिले विचारमा विचलन आउँछ, त्यसले राजनीतिमा प्रभाव पार्छ, त्यसबाट तय गरिने कार्यक्रममा प्रभाव पार्छ, कार्यक्रमले संगठनमा प्रभाव पार्छ, संगठनले नेतृत्वमा प्रभाव पार्छ । त्यसकारणले यसको सिक्वेन्समा छ । त्यसकारणले विचारबाट अलग भएर नेताहरुको नेतृत्वको मात्रै विवाद हो भनेर खोजियो भने त्यो गलत हुन्छ । मैले के भन्ने गरेको छु भने, यो विचारकै लडाईं हो, समाजवादी विचारमा जाने कि उदार पुँजीवादी दिशामा जाने ? यहाँनिरको फरक हो । त्यो कसरी व्यक्त हुन्छ भने विचारमा विचलन भयो भने, उसको कार्य प्रणालीमा पनि प्रतिविम्बित भएको हुन्छ । उसको कार्ययोजनामा प्रतिविम्बित भएको हुन्छ ।
अहिले नेकपाभित्र र सरकारको समस्या के हो र तपाईंहरु रिसाइरहनु भएको छ ?
अहिले पार्टीमा ठ्याक्कै व्यक्तिवादी कार्य प्रणाली देखियो । कम्युनिष्ट पार्टीको कार्य प्रणाली भनेको सामुहिक निर्णय, व्यक्तिगत उत्तरदायित्व अथवा व्यक्तिगत जिम्मेवारी, विचारले निर्देशित गर्ने कार्य प्रणाली हो । अहिले के देखा परेको छ भने, नितान्त व्यक्तिगत कार्य प्रणाली, अनियमित रुपमा एक्लै निर्णय गरिदिने । मैले भन्ने गरेको छु, कुनै कुनै व्यक्तिलाई के लाग्छ भने, म नै राज्य हुँ, म नै सर्वोच्च हुँ, म नै सर्वेसर्वा हुँ, यो अरु केही होइन, यो हिटलरिज्म हो । यस्तो यो देशका कतिपय संस्थामा पनि छ, पार्टीमा देखिन्छ, देशको राज्य र शासन प्रणालीमा देखिन्छ । अहिले यो कुराहरु अभिव्यक्त भएको छ । म पात्र कसैलाई पनि तोक्दिन यो प्रवृति हो, पात्र त जो पनि हुन सक्छ । तर यसको असर हाम्रो देश र राज्य प्रणालीमा देखिएको छ ।
नेकपाभित्र आन्तरिक लोकतन्त्र कसरी कमजोर भयो ? गन्थन मन्थन भएर आत्मलोचना गर्दै सहमतिका साथ एक ढिक्का भएर अगाडि बढ्ने गरेको देखिन्थ्यो । अहिले किन त्यस्तो हुन सकिरहेको छैन ?
कम्युनिष्ट पार्टीमा आन्तरिक जनवादलाई प्रश्रय दिइन्छ । पार्टी कमिटि भित्र व्यापक बहस गर्ने, एकले अर्काका कमजोरीहरुको खुलेर आलोचना गर्ने हुन्छ । कमीकमजोरीको बोध भयो भने आत्मलोचनाबाट सकियो, आत्मलोचना भएन भने जिम्मेवारी फेरदबल गर्ने, सजाय दिने हुन्छ । भित्र सहमति भएको कुरालाई बाहिर व्यक्त गर्ने, तर अहिले के देखियो भने, भित्र भएको सबै कुराहरु बाहिर छरपष्ट बोलिदिने, त्यो कतिबेला हुन्छ भने, जब अन्तरविरोध क्लाइमेक्समा पुग्छ । अहिले हाम्रो पार्टीमा व्यक्तिवाद र सामुहिकताको द्धन्द चलिरहेको छ ।
पार्टीको एकतालाई थेग्ने क्षमता नेतृत्वमा नभएको कि नदेखिएको हो ?
हाम्रा अगाडि तीन वटा चुनौतीहरु थिए, गणतन्त्र स्थापना गरेको त्यसलाई संस्थापना गर्नुपथ्र्याे, हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्नुपर्ने थियो । नयाँ परिवेशमा आएका एजेन्डालाई हाम्रो नीति र कार्यक्रम अनुसार अगाडि बढाउनु थियो । त्यसको निम्ति एक्लो शक्तिले सम्भव छैन भनेर तत्कालिन माओवादीले निष्कर्ष निकाल्यो । त्यसको लागि जोसँग बैचारिक निकतटा छ, त्यसैसँग गठबन्धन गर्ने हो ।
मैले भन्ने गरेको छु, दुई कार्य प्रणाली, दुई संगठन प्रणाली, दुई संस्कृतिबाट आएका दुई पार्टीहरु हुन् । हामीबीच राजनीतिक, सांस्कृतिक र केही हदसम्म बैचारिक भिन्नता थियो । अहिले पार्टीभित्र रिपोलोराइज भयो, अनि अहिले कार्य प्रणालीको प्रश्न उठ्यो, कार्यविधि के हो त, विधान छ हामी सँग, विधानले एक व्यक्ति एक पद भनेको छ, तर जब कार्यान्वयनको दिशातर्फ गयोे, तब आफ्ना मान्छे मुख्य जिम्मेवारी दिशातर्फ गयो । कसैलाई जिम्मेवारीमाथि जिम्मेवारी थोपरियो, जसले गर्दा जिम्मेवारी पुरा गर्न सकेन । कोही जिम्मेवारी विहिन भएर बर्षाैदेखिको लगानी हल्लिएर हिड्नुपर्ने स्थिति पैदा भएको छ । हो, कार्यशैली र कार्यप्रणालीबाट सुरु भएको अन्तरविरोध विकसित हुदैं विचारको हदसम्म पुग्यो ।
अन्त्यमा फेरि भनिदिनुस, पार्टी फुटबाट जोगिन्छ कि अन्ततः टुटफुट नै हुन्छ ?
पार्टी टुटफुट हुन्छ भने कुरामा मलाई पटट्कै विश्वास छैन, पार्टी टुटफुट हुन्न । पार्टीलाई हामी फुटबाट जोगाउँछौं । कति जोगाउँछौं, त्यो अलग कुरा हो, कहिले सम्म जोगाउँछौं, त्यो अलग कुरा हो । पार्टी फुटबाट जोगिन्छ, हामी जोगाउँछौं, पार्टीमा मान्छे आउने जाने त भइरहन्छ नि ? यो यात्रा हो, यात्रामा सबै यात्रु गन्तव्यमा पुग्दैनन् ।
COMMENTS