काठमाडौं, ३० साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
यसैवीच सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरो गएको छ । पहिरोलै एकै गाउँका २२ घर पुरिएको जनाइएको छ । पहिरोमा परी धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।
पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । आज बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् । अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो ।
COMMENTS