काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा असन्तुष्टि जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा नियुक्त गरेकोबाट सरकार श्रृंखलाबद्ध ढंगले प्रेसलाइृ नियन्त्रणमा लागेको पुष्टि भएको उल्लेख गरेका छन् ।
प्रवक्ता शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा कांग्रेसले कुन व्यक्तिलाई काउन्सिलमा ल्याइयो वा कसलाई हटाइयो भनेर नभई विधिमा आफ्नो विरोध रहेको जनाईएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । एकदिन पछि बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।
भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनका लागि काउन्सिलको नियमावली नै संशोधन गरिएको थियो । काउन्सिलका सदस्यहरूले वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने नियमावलीको व्यवस्थालाई संशोधन गरेर मन्त्रिपरिषद्ले कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था राखिएको थियो । भण्डारीको नियुक्तिलाई नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नेकपा सरकारको पछिल्लो उदाहरण भएको कांग्रेसको ठहर छ । कांग्रेसले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका अन्य सरोकारवाला संस्थाहरूसंग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहेने पनि जनाएको छ । सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
COMMENTS