रक्षा, गृह र स्वास्थ्यमन्त्री सहित प्रधानसेनापनि होम आइसोलेसनमा

काठमाडौ, १२ भदौ । कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु होम आइसोलेसनमा बसेका हुन् । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा छन् । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो ।

मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन बाँकी छ । परीक्षणको नतिजा नआएसम्म उनीहरु होम आइसोलेसनमा बस्ने सीसीएमसी स्रोतले बतायो ।

सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ । सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईका अनुसार एकजना सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कपाल काट्न जाँदा संक्रमण भएको हुनसक्ने उनले जानकारी दिएको गुरागाईले बताए । सीसीएमसी सचिवालय भने सिल गरिएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board