काठमाडौं, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज विहान उनकोे निधन भएको अस्पतालले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ उनमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध रहेका थिए ।
जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएको हो । उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवनमा बस्दै आएका थिए । भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।
COMMENTS