काठमाडौं उपत्यकामा खुकुलो बनाइयो निषेधाज्ञा, के खुल्ने के नखुल्ने (यस्तो छ आदेश)

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि भदौ १० देखि १७ सम्म थप गरिएको थियो । तेस्रो पटक फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ । अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ । अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि अनिवार्य गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board