काठमाडौं, १९ भदौ । पाटनको सबभन्दा ठूलो सांस्कृतिक उत्सव रातो मच्छिन्द्रनाथको जात्रामा यसपालि ‘जात्रै’ भयो। वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दा लोकतान्त्रीक पद्धतिको उपहास बन्यो ललितपुर क्षेत्र ।
सामाजिक संजालमा निकै भाइरलनै बन्यो एक जान निहत्र्था सवारी ब्यवस्थापनमा खटिने प्रहरी कुटिएको दृश्य । त्यहि भिडियोले गर्दा सम्पुर्ण प्रहरी दमन भन्दा ललिलपुरबासीले एउटा प्रहरीमाथी जाईलागेको दृश्यले सवैलाई पीडा दियो । सान्तवना बटुले लालिपुरबासीले आलोचनाको सिकार बने ।
के भएको थियो त्यहाँ
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए ।
एक त कोरोना महामारीबीच रथयात्रा हुने कि नहुने टुंगो नलाग्दै रथ बनाउने अनुमति दिइयो। दोस्रो, अन्यौलबीच नै बुंगद्यः (रातो मच्छिन्द्रनाथ) लाई रथमा विराजमान गराइयो र महिनौंदेखि सडकमा अलपत्र छाडियो। त्यतिले नपुगेर, रातो मच्छिन्द्रनाथका मूल पुजारीले ‘कर्फ्यू लगाएर भए पनि जात्रा सम्पन्न गरौं’ भनी लिखित आग्रह गर्दागर्दै स्थानीय निकाय र प्रशासनबाट सुनुवाइ भएन।
यी सबैको नतिजा हो बिहीबारको घटना, जब निशेधाज्ञा तोड्दै सयौं संख्यामा भेला भएका स्थानीय र गुठियारहरूले रथ तानेर बीच सडकमा ल्याए। प्रहरीले रोक्न खोज्दा पनि भीडले टेरेन।
महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका थिए । उनी भन्छन् “हामीले कुनै पनि मानवीय क्षति हुन नदिई सामान्य तरीका अपनाएर रथयात्रा गर्न आएका मानिसलाई हटायौँ ।” ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ ।
वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्ने देखी पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताउछन् । रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले दावी गर्छन। ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छाँै’ भन्ने नाराका साथ थुप्रै युवा सडकमा उत्रिएका देखिन्थे । ती युवा सडकमा उत्रिएर करीब २० पाइला रथयात्रासमेत गरे ।
विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।
भोटोजात्राको कथा
किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी कर्कोटक नाग दम्पती बस्थ्यो । एक पटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्य खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए ।
ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । एक पटक ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।
पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । सो समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै सोही भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे ।
भूतले दिन मानेन । दुवैबीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु “महाराज मलाई कर्कोटक नागले दिएको भोटो यसले चो¥यो” भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरियो ।
प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्कोटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।
राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म रहिआएको छ ।
मच्छिन्द्रनाथको रथयात्रा र भोटोजात्रा काठमाडैं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । जात्रा हेर्न उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च रहेको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउछन् ।
किन भयो यस्तो
संस्कृति, सभ्यता र परम्परासँग जोडिएको रातो मच्छिन्द्रनाथका नाममा पाटनको पुल्चोक क्षेत्र क्षणभरमै तनावपूर्ण बन्यो। उल्लासमय हुनुपर्ने जात्रास्थल रणमैदानमा परिणत भयो। पाटनमा नहुनु भयो। जे भयो, त्यो स्थानीय सरकार, प्रशासन र जात्रा आयोजकबीच समयमै तालमेल नहुनुको दुष्परिणाम हो।
यस्तै हुन सक्थ्यो काठमाडौंको वसन्तपुर क्षेत्रमा पनि, यदि समयमै सबै पक्षसँग छलफल गरेर जात्रा रोक्ने निर्णय नगरिएको भए। हामी सबैलाई थाहा छ, पाटनले जस्तै काठमाडौंले पनि यसपालि आफ्नो सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्ही, अर्थात् इन्द्रजात्रा ‘मिस’ गरेको छ। कोरोना महामारी नहुँदो हो र लकडाउनले हामी घरमै लक नहुँदा हौं त यति बेला इन्द्रजात्रामा रमिरहेका हुन्थ्यौं।
यति ठूलो जात्रा नहुँदा पनि काठमाडौंमा विरोधको स्वर चुइँक्क सुनिएन। न कसैले आक्रोश पोखे।
जात्रापर्व भनेको मान्छेको संवेदनासँग जोडिएको कुरा हो। अलिकति पनि तलमाथि भयो भने मान्छेको हृदयमा चोट पुग्छ। त्यो चोटलाई समयमै मह्लमपट्टी गरिएन र सहमतिपूर्वक विकल्पको बाटो खोजिएन भने आक्रोशको रूप लिन सक्छ। बिहीबार पाटनको सडकमा त्यही आक्रोश पोखिएको हो।
काठमाडौंले भने यसलाई सफलतापूर्वक ह्यान्डल गर्दा पाटनको जस्तो नियति बेहोर्नुपरेन। तर ललितपुर जिल्ला बासीको भन्दापनि जिल्लको शान्तिसुरक्षा सम्मालेर बसेका प्रमुख जिल्ला अधिकारी , स्थानिय सरकारका प्रमुखको राम्रो समन्वय नहुदाँ उक्त झडप भएको मान्न सकिन्छ ।
त्यहि जात्रा हो आखिर काठमाडौंले यति ठूलो घटनालाई कसरी शान्तिपूर्वक ह्यान्डल गर्यो ? को थियो यसको पछाडि, जसले यति ठूलो जात्रा नमनाऊँ भनेर सबैलाई सहमतिमा ल्याए ?
यसको श्रेय जान्छ, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यलाई। उनी कुमारीघरका संरक्षकसमेत हुन्। ‘जीवित देवी’ कुमारीको दैनिक स्याहारसुसार र लालनपालन गौतमकै परिवारको जिम्मेदारी हो। उनले इन्द्रजात्रा मनाउने कि नमनाउने भनेर सम्बन्धित गुठियारहरूसँग तीन महिना अघिदेखि छलफल सुरू गरेका थिए।
त्यति बेला कोरोना लकडाउन खुकुलो थियो। काठमाडौं उपत्यकाको संक्रमित संख्या पनि अहिलेजस्तो ह्वारह्वार्ती बढेको थिएन। त्यही भएर सकेसम्म जात्रा चलाउनैपर्छ भन्ने धेरै गुठियारको राय थियो। त्यसैबीच सामान्य ढंगमा भए पनि गाईजात्रा सम्पन्न भयो। यसले इन्द्रजात्रा आयोजकहरू हौसिए। इन्द्रजात्राको सुरूआत हनुमानढोका दरबारअगाडि यःसि अर्थात् लिंगो गाडेर हुन्छ। यसनिम्ति भक्तपुरको नालाबाट रूख काटेर ल्याउनुपर्छ। साइत हेरेर पहिले नै रूखमा चिनो लगाउन जाने चलन छ।
इन्द्रजात्रा मनाउने तयारीस्वरूप सम्बन्धित गुठियारहरूले रूखमा चिनो लगाएर आइसकेका थिए। यसबाहेक कुन दिन लिंगो ठड्याउने, कुन दिन कहाँ रथयात्रा चलाउने भन्ने साइत पनि तय भइसकेको थियो।
तर पछिल्लो समय परिस्थिति विचार गरेर व्यवस्थापन समितिका अध्यक्ष शाक्यले साउन ३० गते खुसीबुको नेपाः ब्याङ्क्वेटमा गुठियारहरूको भेला डाके। उक्त बैठकमा इन्द्रजात्रासँग सम्बन्धित २९ गुठी खलःका प्रतिनिधिले भाग लिएका थिए। ‘तुरुन्तै निर्णय लिइएन भने जति दिन घर्किँदै जान्छ, मान्छेलाई जात्रा हुन्छ कि हुन्न भनेर अन्यौल बढ्छ। पछि जात्रा हुन्न भन्यो भने स्थानीयको चित्त दुख्छ। त्यसैले हामीले जात्रा गर्ने कि नगर्ने भनेर समयमै निर्णय गर्नुपर्छ,’ बैठकमा शाक्यले भने। उनले यो पनि भने, ‘जात्रा नगरौं भन्न सजिलो छैन।
श्रद्धालुहरूको मनमा चोट पुग्छ। तर, अहिलेको कठिन परिस्थितिमा हामीले यसपालि जात्रा नगरौं, अर्को वर्ष धूमधामका साथ मनाऔंला भनेर सबैलाई सम्झाउनुपर्छ। त्यसको निम्ति सबभन्दा पहिला गुठियारहरूले नै यो कुरा बुझेर कठिन निर्णय लिन तयार हुनुपर्छ।’
सबै विधि पूरा गर्न नसके पनि केही निश्चित उत्सव मात्र मनाउन सकिन्छ कि भनेर पनि कुराकानी भयो। तर, एकाध उत्सव गरेर अधकल्चो इन्द्रजात्रा मनाउनु व्यर्थ हो भन्नेमा गुठियारहरू सहमत भएका थिए ।
काठमाडौं उपत्यकामा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमित थपिन थालेको समय थियो। देशकै नयाँ ‘हटस्पट’ बनेका बेला इन्द्रजात्राजस्तो ठूलो पर्व मनाउनु जोखिमपूर्ण हो भन्नेमा गुठियारहरूको मत मिल्यो।
त्यही बैठकले सरकारी प्रतिनिधि र स्थानीय जनप्रतिनिधिसँग पनि यसबारे छलफल गर्ने सहमति गर्यो। गुठियारहरू भोलिपल्टै काठमाडौं महानगरपालिका र गुठी संस्थानसँग कुराकानी गर्न गए। उनका अनुसार, औपचारिक जात्रा नभए पनि मन्दिरहरूमा नित्यपूजा गर्न साविकबमोजिम आर्थिक सहयोग जारी राख्ने गुठी संस्थानले सहमति जनायो। यसरी २९ वटै गुठीः खलहरूलाई सहमतिमा लिएर इन्द्रजात्रा स्थगित भयो।
विधिपूर्वक जात्रा नभए पनि सबै मन्दिरमा क्षमापूजा जारी छ। हरेक दिन कुमारी, गणेश, भैरवसहित आकाशभैरव, पुलुकिसी, लाखे लगायतको नित्यपूजा पनि भइरहेको शाक्यले जानकारी दिए।
जात्रा नमनाउने गुठी खल हरूको निर्णयमा स्थानीयले पनि शान्तिपूर्वक साथ दिए।
केही दिनअघि कुमारी रथयात्राको सम्झना गर्दै असनका स्थानीयले सानो खेलौना रथ बनाएर तानेका थिए। महामारीबीच थोरै उपस्थिति भए पनि सबैको अनुहारमा उल्लास झल्किन्थ्यो।
यस वर्ष पाटनमा जे भयो, आजभन्दा बाह्र वर्षअघि काठमाडौंको इन्द्रजात्रामा त्यस्तै घटना भएकाले पनि आफूहरू पहिल्यै सतर्क भएको उनी बताउँछन्।
यो २०६५ सालको कुरा हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी सरकारले इन्द्रजात्रामा देखाइने लाखे, पुलुकिसी र सवस्भक्कू नाचलाई दिँदै आएको खर्च एकाएक कटौती गर्दा काठमाडौंका स्थानीय आक्रोशित भएका थिए। जात्रा भर्न आएकाहरूको भीड आन्दोलनमा परिणत भएको थियो। ठाउँ–ठाउँमा बाटो अवरूद्ध हुँदा कुमारी रथयात्रा बीचैमा फर्काइएको थियो। जात्राको अन्तिम दिन य स् सि ढाल्नुपर्नेमा त्यो पनि रोकियो।
त्यो बेला जात्रा नै स्थगित गरेर काठमाडौं आन्दोलनमय भएको थियो। पछि सहमति गरेर जात्रा सम्पन्न गरिए पनि आन्दोलन केही दिन जारी रह्यो।
एउटा सानो कुराले कति ठूलो रूप लिन सक्छ भन्ने अनुभव संगालेका काठमाडौंका गुठियारहरूले यसपालि सरकारी निर्णयको प्रतीक्षा गरेनन्। बरू आफैंले स्वतस्फुर्त रूपमा जात्रा रोक्ने प्रस्ताव अघि बढाए। तीन महिना अघिदेखि छलफल गर्दै कुनै बाधा–अवरोधबिना इन्द्रजात्रा नगराउन भूमिका खेलेका शाक्य पाटनको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्छन्।
‘यसमा म निशेधाज्ञा उल्लंघन गर्दै रथ तान्न आएका जनताको दोष देख्दिनँ। उनीहरू त रातो मच्छिन्द्रनाथप्रति आस्था र आफ्नो संस्कृतिप्रतिको भावनाले आएका हुन्,’ उनले भने, ‘यो स्थिति ल्याउन गुठी संस्थान, त्यहाँको प्रशासन र स्थानीय सरकार चुकेको छ।’
स्थानीय सरकार र प्रशासनले रातो मच्छिन्द्रनाथसँग सम्बन्धित गुठी खलःहरूलाई समयमै डाकेर जात्रा गर्ने कि नगर्ने र गर्ने भए कसरी गर्ने भनी निर्णय लिनुपर्थ्यो।
COMMENTS