काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साढे ४ बजे उद्योगी व्यवसायीलाई भेटेर छलफल गर्दैछन् । ओलीले बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुखसँग भेटघाट गर्न लागेका हुन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी पनि आफ्नो काँधमा आएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा तीनओटा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलाई बोलाएका हुन् । ‘प्रधानमन्त्री ओलीले निजी क्षेत्रका तीनओटै संस्थाका प्रमुख तथा उद्योगीलाई बोलाएको हो । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नराम्ररी प्रभावित भएको र त्यसलाई उकास्न सरकारले के गर्नुपर्छ र निजी क्षेत्रले के गर्नुपर्छ भन्ने विषयमा गम्भीर छलफल हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उद्योगीरव्यवसायीसँग सरकारको अपेक्षा के छ ? अहिले सरकारसँग उनीहरु केही असन्तुष्ट बनेको अवस्था छ ।
त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन्छ ।’ कोरोनाका कारण ५ महिनादेखि आर्थिक गतिविधि पूर्ण रुपमा बन्द छ । उद्योग पनि चल्न सकेका छैनन् । त्यहाँ काम गर्ने मजदुरले पनि तलब पाउन सकेका छैनन् ।
उद्योगीले बैंकलाई ब्याज बुझाउन सकेका छैनन् । यस्तो अवस्थमा प्रधानमन्त्री ओलीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्रीले समय दिएर भेट्न बोलाएको भएको जानकारी दिए ।
COMMENTS