नेकपालाई फुटाउन खोज्नेहरु असफल भएको ओली-प्रचण्डको निश्कर्ष

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बालुवाटारमा भएको स्थायी कमिटीको बैठकले महत्वपुर्ण १५ वटा निर्णयहरु गरेको छ । करिव डेढ महिना स्थगीत भएको स्थायी कमिटीको बैठकले १५ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न गरेको हो ।

स्थायी कमिटिले आज गरेको महत्वपुर्ण निर्णयले पार्टीभित्रको आन्तरिक विवाद लगभग टुंगिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिएका थिए । यसै अनुरुप उक्त प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाउने र दुर्घटनातर्फ लैजाने षड्यन्त्रलाई विफल बनाएको दावीसमेत गरेका छन् ।

शुक्रबार ५ घण्टा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधान गर्न यो बैठक सफल हुने बताएका थिए । उनले पार्टीलाई फुटाउन खोज्ने र कमजोर बनाउन खोज्नेहरु असफल रहेको दाबी गरेका हुन् । देशीविदेशी तथा प्रतिकृयावादी शक्तिहरुको चाहनालाई असफल बनाउन बैठक सफल हुनेमा आफु विश्वस्त रहेको प्रधानमन्त्री ओलीको धारणा थियो ।

त्यस्तै, कार्यकारी अध्यक्ष प्रचण्डले पनि दुर्घटनाबाट पार्टीलाई बचाएको बताएका छन् । उनले विचारको बहस गर्दै र बैचारिक रुपमा पनि रुपान्तरणको दिशामा पार्टी र संगठन अघि बढ्नेमा आफु विश्वस्त रहेको धारणा राखेका हुन् ।

आजको बैठकमा नेकपा स्थायी समितिका १३ जना सदस्यले बैठकमा पेश भएको अध्यक्षद्धयको प्रस्तावमाथि आ-आफ्नो धारणा राखेका थिए । सदस्यहरुले राखेका धारणलाई समेत समेट्नेगरी प्रस्ताव पारित गर्दै बैठक शुक्रबारै समापन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा माधवकुमार नेपाल, देव गुरुङ, भिम रावल, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघु पन्त, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रस्तावमाथि धारणा राखेका थिए । नेकपा स्थायी समितिमा ४४ सदस्यीय रहेका छन् ।

पार्टीभित्रको बिवाद समाधानका लागि नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गरेको थियो । साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

ओलीलाई सरकार, प्रचण्डलाई कार्यकारी
त्यस्तै, आज नेकपा स्थायी समिती बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अधिकार केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएको जानकारी अनुसार अब पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने र सरकार पार्टीको मागदर्शनमा चल्ने भएपनि सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय गर्ने पद्धतिको विकास हुने बताए । त्यस्तै, आगामी यो वर्षको अन्तिम अर्थात २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारीका लागि आगामी कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

के भयो एमसीसीबारे नेकपाको निर्णय ?
आजको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय रहेको छ । यस बिषयमा के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

भारतीय सेना नेपाली भुमिबाट हटाउने
लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा दृढताका साथ सरकारलाई सहयोग गर्ने आजको बैठकले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने निर्णय भएको हो ।

कोरोना रोकथामबारे
त्यस्तै, आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने निर्णय गरेको छ । कोरोना रोकथाममा पार्टीले प्रभावकारी भुमिका खेल्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्ता छन् महत्वपूर्ण १५ वटा निर्णयहरु :
१. अध्यक्षद्वयले तयार पारेको कार्यसूची पारीत,
२. स्थायी कमिटीका सदस्यहरुले दिएको सुझावलाई सम्बोधन गर्ने,
३. पार्टीलाई सुदृढ ढंगले अघि बढाउने,
४. पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने,
५. विगतमा भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने,
६.अध्यक्षद्वयको कार्यविभाजन । जसमा पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई र सरकारको पुरै कार्यकाल केपी ओलीले गर्ने,
७. सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टीको मार्गदर्शनमा रही सरकार अघि बढनुपर्ने,
८. महत्वपूर्ण कुराहरुको निर्णय गर्दा सरकारले पार्टीमा छलफल गर्नुपर्ने, दुई अध्यक्षबीच सहमतिमा गर्ने,
९. एकताको महाधिवेशन चैत्र २५ देखी ३० सम्म काठमाडौँमा गर्ने,
१०. कार्तिक १५–१७ सम्म महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटीको बैठक बस्ने,
११. लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा दृढताका साथ सरकारलाई सहयोग गर्ने,
१२. नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने,
१३. कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने,
१४. एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने, झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई विशेष ध्यान दिने,
१५. पार्टीभित्रका सैद्धान्तिक बहसलाई महाधिवेशनमा लगि समाधान गर्ने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board