प्रचण्डले गरे पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण

काठमाडौं, ३० भदौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन् ।

निष्ठाको राजनीति गरेका बोगटीको छैटौं स्मृति दिवसको उपलक्ष्यमा प्रचण्डसहित परिवारका सदस्यले तस्बिरमा माला लगाएर सम्झिनु भएको छ । बोगटीको स्मृतिमा वृहत कार्यक्रम राख्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी कार्यक्रम गरिएको हो। बोगटीले तत्कालीन माओवादीमा प्रचण्डका अत्यन्तै निकट भएर काम गरेका थिए। बेलाबेला पार्टीमा अप्ठ्यारो पर्दा प्रचण्डले बोगटीलाई सम्झिने गरेका छन् ।

को हुन बोगटी ?
नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री भएका थिए । उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट –३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए । नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत भएका थिए । ८ कक्षा सम्म मात्र औपचारिक शिक्षा हासिल गरेका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिछन् ।

उनका छोरा रवि वोगटीको विद्रोह कै क्रममा हत्या भएको थियो। पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका बोगटी केही समय नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागीरे पनि थिए । विचारमा दृढ र व्यवहारमा सहज पोष्टबहादुर बोगटी गैर माओवादीहरुका बीचमा पनि मिलनसार नेताका रूपमा परिचित थिए । सामाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेका बोगटी राजनीतिबाट लिने होइन, देश र जनताको सेवा गर्ने हो भन्नेमान्यता स्थापित गर्न सफल भएका मान्न सकिन्छ ।

बोगटीको जन्म नुवाकोटको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते भएको थियो । सामान्य किसान परिवारमा जन्मिएका बोगटी आफ्नो गाउंमा सहकारीमार्फत समाजसेवामा सक्रिय थिए । सहकारीमा सक्रिय हुंदै गर्दा बोगटी समाजबादतर्फ आर्कर्षित भए । २०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बोगटी माओवादीले सशस्त्र संर्घष थाल्नुभन्दा पूर्व नै भुमिगत राजनीतिमा थिए । बोगटी एकीकृत नेकपा माओवादीका संस्थापक मध्ये एक हुन् । माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व भएको गोरखाको सिरानचोकमा गरिएको फौजी तालिममा सहभागी केही नेता मध्ये उनी एक थिए ।

माओवादीको संशस्त्र संर्घषताका बोगटीले माओवादीको पश्चिम क्षेत्रको कमाण्ड सम्हाले । बोगटीले नेतृत्व गरेको पश्चिम कमाण्डमा माओवादी संर्घष चांडै विस्तार भएको थियो । सरल र सालीन स्वभावका बोगटी सबैसंग मिल्न सक्ने नेता हुनुहुन्थो । विचारमा दृढ र व्यवहारमा सहज बोगटीलाई गैरमाओवादीहरु पनि मिलनसार नेताका रूपमा बुझ्ने गर्दछन् । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित बोगटी दोश्रो निर्वाचनमा भने पराजित भएका थिए ।

पहिलो संविधानसभामा माओवादीको प्रमुख सचेतक रहेका बोगटीले सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्ड्यन तथा ऊर्जामन्त्रीसमेतको जिम्मेवारी सम्हाले । पर्यटन मन्त्री छंदा बोगटीले नेपाल वायुसेवा निगममको स्तरोन्नतीकरणका लागि महत्त्वपूर्ण निर्णय गरेका थिए । त्यस्तै उर्जामन्त्री हुंदा ऊर्जामा चिनिया लगानी भित्र्याउन उनको विशेष पहल रह्यो । जलविद्युत क्षेत्रको विकासका लागि नीतिगत सुधारमा बोगटीले निर्वाह गरेको भूमिका ऊर्जा क्षेत्रमा सम्झिने गरिन्छ ।

एकीकृत माओवादीको हेटौँडामा भएको सातौ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board