भारत हिँडेका पाँच महिलासहित ५४ जनाको उद्धार

नेपालगञ्ज, ३० भदौ । बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो ।

भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत पठाएवापत प्रतिव्यक्ति रु छ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अवैध नाका प्रयोग गरेर जान लागेकाले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । “रुकुम, रोल्पा, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका उनीहरु कामका लागि भारत जान लागेको अवस्थामा उद्धार गरिएको हो”, उनले भने ।

अवैध बाटाबाट सोझा नागरिकलाई भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईमध्ये अमर गन्र्धव गाडी चालक भएको र सेराज अहमद राई नेपालगञ्जबाट अवैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको बाँके प्रहरी प्रमुख रानाले बताए । कोभिड–१९ को महामारीको कारण सीमा बन्द भएका कारण उनीहरुलाई अवैध बाटो प्रयोग गरी भारत लैजान लागिएको प्रहरीको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board