भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बन्न सक्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताए । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति भण्डारीले ‘राज्यको चौथो अङ्ग’ पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताए ।

उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउँदै भने “लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमीकमजोरी क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको छु, सबै पत्रकारले पत्रकार आचारसंहिता पालना गर्ने अपेक्षा लिएको छु ।”

पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । “अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी तथ्यहीन र झुटा समाचार एवं भ्रामक विचार कतिपय सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेको छ”, उनले भने, “सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ । नेपालको सन्दर्भमा यस चुनौतीको सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।”

राष्ट्रपति भण्डारीले पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिलले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानूनी कारवाहीका लागि गरेको प्रयास सराहनीय रहेको उल्लेख गरे ।

उनले यस वर्ष विश्वभरिका सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत कोभिड–१९ को महामारीबाट पीडित हुनुपरिरहेकामा दुःख लागेको र आफू नेपालका पत्रकारले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकार रहेकोसमेत बताए । “कोभिड–१९ को यस्तो जोखिमपूर्ण परिस्थितिमा पनि पत्रकार समाचार सम्प्रेषण गर्न खटिनुभयो र अझै खटिइरहेका छन् । प्रतिकूल परिस्थितिमा समेत अविचलित रूपमा पेशाप्रतिको दायित्व वहन गर्ने पत्रकारिता क्षेत्रको म उच्च मूल्याङ्कन गर्दछु”, उनले भने “यस सन्दर्भमा पत्रकार स्वयं पनि कोरोनाबाट सङ्क्रमित भएका छन् । म उनीहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु । ।”

आमसञ्चार जगत्ले जनताको सुख, शान्ति र समृद्धिको यात्रामा सधैँ टेवा पु¥याउँदै आएको उल्लेख गर्दै उनले भने, “स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन ।” राष्ट्रपति भण्डारीले राष्ट्रको सुख, शान्ति र समृद्धिको साझा सङ्कल्पलाई साकार तुल्याउन भौतिक पूर्वाधार विकासलाई उत्प्रेरित गर्न आमसञ्चार जगत्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

“जलवायु परिवर्तनका कारण उत्पन्न भएका समस्या उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउन पत्रकारिता महत्वपूर्ण माध्यम बन्नुपर्दछ”, उनले भने,“खाद्य सुरक्षा, सरसफाइ तथा स्वच्छ पिउने पानी, गुणस्तरीय शिक्षा र जनस्वास्थ्य प्रवद्र्धनका विषयमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराउनुपर्दछ । सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण गर्न विभिन्न प्रकारका कुप्रथा, विकृति एवं विसङ्गति अन्त्यका लागि चेतना तथा जागरण अभिवृद्धि गर्नुपर्दछ ।”

सोही अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई, ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सम्पादक अमित ढकाल र ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board